६ आश्विन २०८१, आइतबार

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच पहिलो प्रत्यक्ष भर्चुअल वार्ता सम्पन्न

प्रकाशित मिति :  16 November, 2021 12:46 pm


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको पहिलो भर्चुअल शिखर वार्ता सम्पन्न भएको छ । दुवै नेताले आपसी हित र अन्तर्राष्ट्रिय विषयहरूमा विचारको अदानप्रदान गरेका छन्।

अमेरिकी राष्ट्रपति बाइडेनले राष्ट्रपति सीलाई ताइवानको यथास्थितिमा परिवर्तन ल्याउन खोज्ने एकल प्रयासको अमेरिकाले सशक्त विरोध गर्ने जनाएको बीबीसीले जनाएको छ ।
यसैगरी दुवै नेताले चीनले सिनजियाङ र हङकङ जस्ता विवादित विषयहरूमा पनि छलफल गरेका हुन्।

राष्ट्रपति बाइडेनले जनवरीमा पदभार सम्हालेयता दुई नेता बीचको सर्वाधिक ठोसरूपमा वार्ता भएको पहिलो पटक हो । रोयटर्सले चिनियाँ सञ्चार माध्यमलाई उल्लेख गरी ताइवानको स्वतन्त्रतालाई अमेरिकाले समर्थन गरे त्यो आगोसँग खेल्नु हुने किसिमको चेतावनी सीले बाइडनलाई दिएको जनाएको छ।

अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बाइडेनले जनाएको ह्वाइटहाउसको विज्ञप्तिमा रहेको छ । शिखर सम्मेलन पछि जारी गरिएको सोही विज्ञप्तिमा ताइवानको विद्यमान स्थितिमा परिवर्तन ल्याउने कुनै प्रयासलाई अमेरिकाले सशक्त प्रतिकार गर्ने उल्लेख छ।

चीनले ताइवानलाई मुख्यभूमिसँग एकीकरण गराउन खोजेको छ । ताइवानसँग अमेरिकाको कुनै सम्झौता नभएपनि ताइवानलाई सुरक्षा गर्ने कानुन रहेको छ । अर्कोतर्फ चीनसँग अमेरिकाकाे दौत्य सम्बन्ध स्थापित छ । अमेरिकाको यो दुविधाजनक सम्बन्ध रहेको छ।

सीले बाइडनलाई आफ्नो पुरानो मित्रको रूपमा सम्बोधन गरी अभिवान गरेका थिए । सीले विश्व शान्ति तथा विकासका लागि अमेरिका र चीन मिलेर अगाडि बढ्नुपर्ने बताए । भर्चुअल शिखर सम्मेलनमा दुई देशका उच्चपदस्थ पदाधिकारीहरूको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस !