३ आश्विन २०८१, बिहिबार

भूकम्पप्रभावित जिल्लामा इन्टरनेट जोड्ने नाममा ६५ करोड घोटाला

प्रकाशित मिति :  20 February, 2020 9:06 am


काठमाडौं, ८ फागुन। नेपाल दूरसञ्चार प्राधिकरण र तीन कम्पनीको मिलेमतोमा भूकम्पप्रभावित जिल्लाका सार्वजनिक निकायमा निशुल्क इन्टरनेट जडान गर्ने नाममा ६५ करोड रुपैयाँ दुरुपयोग भएको खुलेको छ । ती जिल्लामा नि:शुल्क इन्टरनेट पुर्‍याउने ठेक्का प्राधिकरणबाट पाएका नेपाल टेलिकम, सुबिसु केवल नेट र मर्कन्टायल कम्युनिकेसनले काम सम्पन्न भएको कागज बनाएर ९० प्रतिशत भुक्तानी लिइसकेका छन् । तर, यथार्थमा अधिकांश गाउँका कार्यालयमा इन्टरनेट नै नपुगेको र पुगेका ठाउँमा पनि नचलेको पत्ता लागेको हो ।

मुलुकभर नि:शुल्क इन्टरनेट पुर्‍याउने योजनाअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा भूकम्पप्रभावित ११ जिल्लामा इन्टरनेट जडानका लागि ०७४ अन्ततिर तीन कम्पनीसँग सम्झौता गरेको थियो । नेपाल टेलिकम, सुबिसु केवल नेट र मर्कन्टायल कम्युनिकेसनले ११ जिल्लाका सबै सार्वजनिक निकायमा नि:शुल्क इन्टरनेट पुर्‍याउने गरी करिब ६५ करोड रुपैयाँको काम पाएका थिए ।

काम सम्पन्न भएको कागज बनाएर ती कम्पनीले प्राधिकरणबाट अधिकांश भुक्तानी लिइसके पनि कतिपय कार्यालयहरू इन्टनरनेटविहीन छन् भने कतिपयले आफ्नै खर्चमा इन्टरनेट सेवा किन्नु परिरहेको छ । नेपाल टेलिकमले इन्टरनेट जोडिदिए पनि अहिलेसम्म नचलेको काभ्रेपलान्चोकको रोशी गाउँपालिकाका आइटी प्रमुख प्रकाश पौडेलले बताए । ‘हामीले त सुबिसुको नेट जोडेर काम चलाइरहेका छौँ,’ उनले भने । -नयाँ पत्रिका



प्रतिक्रिया दिनुहोस !