४ आश्विन २०८१, शुक्रबार

विद्युतीय राहदानीको सुरुवात,यस्तो छ विशेषता

प्रकाशित मिति :  17 November, 2021 5:37 pm


काठमाडौं ।  विद्युतिय राहदानीको औपचारिक सुरुवात भएको छ । पहिलो विद्युतीय राहदानी परराष्ट्रमन्त्री नारायण खड्काले शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेर आज शुभारम्भ गरेका हुन् ।

मन्त्री खड्काले विज्ञान र प्रविधिसँग जोडिएर सर्वसुलभ, सजिलो र भरपर्दो राहदानी वितरण गर्न लागेको बताए ।

पहिला हस्तलिखित राहदानीका कारण विदेशमा धेरै समस्या हुने विश्वास नगर्ने कारण धेरै दुख पाएको र पछि एमआरपी पासपोर्ट आएपछि सजिलो भएको उनको भनाई थियो । विद्युतीय राहदानीको लागि छोटो समयमा छिटो काम भएको मन्त्री खड्काले बताए ।

परराष्ट्र सचिव भरतराज पौडेलले हस्तलिखित राहदानी हुँदै यो स्थितीमा आइपुग्दा खुशी लागेको बताए । एमआरपी राहदानी पनि समस्या रहित हिसाबले वितरण गरिराखेकोले यो पनि समस्या रहित हुने विश्वास लिएको उनले भने ।

सत्यमोहन जोशीले विद्युतिय राहदानीको सफलताको शुभकामना व्यक्त गरे । प्रविधि विकास गर्दै जाने हो भने हाम्रो सानो देश भएपनि अगाडी बढ्ने उनले बताए ।

विद्युतिय राहदानी १५ दिन परिक्षणको रुपमा वितरण गर्ने र त्यसपछि आवश्यकता अनुसार वितरण गर्ने जनाइएको छ ।

राहदानी विभागले साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी गर्न लागेको हो ।

एमआरपी बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना रहेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।

सेवाग्राहीले विद्युतिय राहदानी एकै दिनमा पाउने जनाइएको छ । विद्युतीय राहदानीमा माइक्रो चिपका रहेकाे छ ।

यस चिपमा औंठाछाप, तस्बिरलगायत व्यक्तिगत विवरण हुन्छन् । यी विवरण राखेर चिप लक गरिसकेपछि कसैले फेरबदल गर्न नसक्ने राहदानी विभागमा महानिर्देशक अर्यालले भने ।

यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी भएको अर्यालले बताए ।



प्रतिक्रिया दिनुहोस !