मुना मदनको भन्दा फरक नेपाली अर्थतन्त्र अहिले पनि नभएको रक्षामन्त्री रिजालको भनाइ
काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले समकालीन नेपाली समाजको अवस्था महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको मुनामदनको भन्दा फरक हुन नसकेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा ‘तेस्रो डिशहोम १२खरी कथा लेखन प्रतियोगिता’का उत्कृष्ट कथाहरूको संग्रह विमोचन समारोहका प्रमुख अतिथिको रूपमा मन्त्री डा. रिजालले महाकवि देवकोटाको मुना मदनमा कमाइको लागि विदेशिनुपर्ने अवस्था प्रस्तुत गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले यस्तो बताए ।
कुनै कुनै कृति कालजयी हुन सक्ने दृष्टान्त देवकोटाको मुना मदनले दर्शाएको उनको बुझाइ छ ।
उनले भने “ देवकोटाका बेला विदेश गएर कमाइ गरी पठाएको रेमिटान्सले देश त्यतिखेर पनि धानेको थियो अहिले पनि देश रेमिटान्सले धानेको छ ।”
आफू साहित्यबारे धेरै रूचि नराख्ने व्यक्त भएको बताउँदै उनले साहित्य समाजको ऐना हो ऐना हो सुन्दै आएको स्मरण साझा गरेका थिए ।
उनले बाह्रखरीको यस प्रतियोगिताले नेपाली कथा लेखनको विकासका लागि योगदान गर्ने विश्वास व्यक्त गरेका थिए ।
विजेता तथा उत्कृष्ट कथाका कथाकारहरूलाई पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सरिक भइ यो वर्षका पच्चिस उत्कृष्ट कथाहरूको सँगालोको विमोचन गरेका थिए ।