९ माघ २०८१, बुधबार

द्वन्द्वकालमा भएका कमजोरीहरूको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध छौं : प्रचण्ड

प्रकाशित मिति :  21 November, 2021 2:01 pm


काठमाडौं । सरकार र तत्कालिन बिद्रोही नेकपा (माओवादी) बीच बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको पन्ध्र वर्ष पुगेको   छ ।

आजकै दिन बृहत शान्ति सम्झौतामा हस्ताक्षर गरेर नेकपा माओवादी शान्ति प्रकियामा आएको थियो ।

बृहत शान्ति सम्झौता भएका १५ वर्ष पुगेको अवसरमा शुभकामना नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस वक्तव्य जारी गरेका छन् ।

अध्यक्ष प्रचण्डले भनेका छन्,“आजसम्मका राजनैतिक उपलव्धीहरूप्रति गर्व गर्दै सो क्रममा भएका कमिकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं । यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं ।”

नेपाली सेनाको लोकतान्त्रिकरण र जनमुक्ति सेनाको समायोजनको काम सम्पन्न भैसकेको भन्दै प्रचण्डले शान्ति प्रक्रियाको बाँकी कामका रुपमा रहेको द्वन्द्वकालिन घटनाको सत्य तथ्य छानविन गरी मेलमिलापको वातावरण तयार गर्न सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगहरु गठन भै कार्यरत रहेको उल्लेख गरेका छन् ।

युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी रहेको प्रचण्डको भनाई छ ।

शहीद तथा वेपत्ता परिवार, घाईते, विस्थापित लगायतका पीडितहरूसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामि अधिवेशनमा टुङ्गोमा पुराउन र शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको प्रचण्डले उल्लेख गरेका छन् ।

शान्ति र महिला सम्बद्ध संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्ताव नं. १८२० तथा १३२५ को पहिलो राष्ट्रिय कार्ययोजना सफलतापुर्वक सम्पन्न गरिसकेको गर्दै प्रचण्डले दोश्रो कार्ययोजना समेत कार्यान्वयन गर्ने कुरा पनि विश्वस्त पार्न चाहन्छौं भनेका छन् ।



प्रतिक्रिया दिनुहोस !