९ माघ २०८१, बुधबार

कांग्रेस महाधिवेशन : तीनदशकपछि ‘किशोरी राजबन्दी’को सक्रिय राजनीतिमा ‘कमब्याक’

प्रकाशित मिति :  21 November, 2021 7:19 pm


काठमाडौं । पदमकन्या क्याम्पसकी २०४४ सालकी स्ववियू उपसभापति गोमा उप्रेती सुवेदी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा फर्किएकी छन् ।

२०४२ सालमा भएको सत्याग्रहकी ‘किशोरी राजबन्दी’ आगामी १४ औं महाधिवेशनमा केन्द्रीय प्रतिनिधिको उमेद्वार बनेकी    हुन् ।

नुवाकोट खरानीटारमा जन्मिएकी गोमाका बुवा पुन्यबहादुर उप्रेती पनि कांग्रेस राजनीतिमा सक्रिय थिए । तत्कालिन स्थानीय अमरज्योती प्राविबाटै राजनीतिमा सक्रिय भएकी गोमा २०४४ सालमा पद्म कन्या क्याम्पस, काठमाडौंको स्ववियू उपसभापति बनेकी थिइन् ।

यसअघि २०४१ सालमै त्रिचन्द्र क्याम्पस, काठमाडौंमा नेविसंघको इकाई कोषाध्यक्ष भएकी गोमा स्ववियूको कोषाध्यक्ष निर्वाचित भइन् । स्नातक तह पढ्न पद्मकन्या कम्याम्प गएपछि थप विद्यार्थी राजनीतिमा उनी सक्रिय भएकी थिइन् ।

२०४६ सालको आन्दोलनमा पदमकन्या क्याम्पसको आन्दोलनको अगुवाईसमेत गरेकी गोमा पछि भने कम क्रियाशील देखिएकी थिइन् । लुम्बिनी सञ्चारसँग गोमाले भनिन्, “म निस्कृय होइन, निरन्तर क्रियाशील सदस्य थिए तर यसपटक भने उमेद्वारै बनेको छु ।” उनी अहिले काठमाडौं निर्वाचन क्षेत्र नम्बर-५ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि उमेद्वार छिन् । यो क्षेत्रमा आफू झण्डै ३० वर्षदेखि जोडिएर राजनीतिमा सक्रिय रहेको गोमाको भनाई छ ।

गोमा २०४२ सालमा भएको सत्याग्रहमा ९ महिना जेल समेत परेकी थिइन्, “त्यो बेला म १५/१६ वर्षको उमेर थियो होला, ९ महिना जेल परेँ, आन्दोलनकारी होइन भन्ने कुरै भएन, राजबन्दी भएर बसेको थिए त्यो उमेरमा, सायद परिवारको राजनीतिले मलाई पनि बलियो बनाएको थियो ।”

गोमाको बिहे पनि रोल्पाको राजनीतिक परिवारमै भएको थियो । उनका श्रीमान् नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदी हुन् । गोमाका ससुरा षडानन्द सुवेदी नेपाली कांग्रेसबाट २०१५ सालमा सांसद भएका थिए । गोमाका ससुरा ‘रोल्पाका बा’ भनेर समेत चिनिन्छन् ।

जेठाजु रेगबहादुर सुवेदीले रोल्पाबाट ३ पटक चुनाव जितेर राष्टिय पञ्चायतमा प्रतिनिधित्व गर्दै राज्यमन्त्री समेत बनेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !