७ मंसिर २०८१, शुक्रबार

बैतडी जन्ती बाेकेकाे जीप दुर्घटनामा मृत्यु हुनेकाे सङ्ख्या ६ पुग्यो

प्रकाशित मिति :  22 November, 2021 8:11 am


बैतडी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहिमाडौँबाट जन्ती बोकेर दशरथचन्द–६ सिमायलतर्फ जाँदै गरेको म१ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द –४ कलुवाड मोडमा आइतबार राती ८ः३० बजे दुर्घटनामा परेको हो ।

जीपमा सवार रहेका सात जनामध्ये पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एकजनाको उपचारको लागि धनगढी लैजाँदै गर्दा मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका जीप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारको लैजाँदै गर्दा बाटोमा मृत्यु भएसँगै मृतकको सङ्ख्या छ पुगेको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु हुनेहरुमा सबै दशरथचन्द –६ कै रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

दशरथचन्द –६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु भएका पाँच जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी र बाटोमा मृत्यु भएका चालकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यस्तै दुर्घटनामा परी दशरथचन्द ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन् । चन्दको जिल्लामा उपचार हुन नसक्दा धनगढी रेफर गरिएको छ । सडकबाट ७०० मिटर तल खसेको जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन् । द्रुत गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने अुनमान गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस !