४० वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँड्ने तयारी
काठमाडौं । ४० वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।
विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५र७६ देखि नाफा कमाउन थालेको हो । यस कम्पनीले पहिलोपटकको नाफामा कर तिरेर रु एक करोड ९२ लाख कमाएको कम्पनीका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । त्यसको अर्को वर्ष अर्थात् आव २०७६र७७ मा यस कम्पनीले रु एक करोड २२ लाख नाफा कमाएको थियो ।
आव २०७७र७८ को अहिले लेखापरीक्षणको काम भइरहेको छ । यो आवमा पनि कम्पनी नाफामा छ । सरकारको औद्योगिक क्षेत्रमा रहेका सार्वजनिक संस्थानमध्ये यही कम्पनीनै नाफामा रहेको एकमात्र संस्था हो ।
अर्थ मन्त्रालयले प्रकाशन गरेको संस्थानसम्बन्धी प्रगति प्रतिवेदनमा पनि यो उल्लेख गरिएको छ । कम्पनीले आव २०७६र७७ देखि शेयरधनीलाई लाभांश बाँड्न थालेको छ । गत आवको लेखापरीक्षण सम्पन्न भएपछि सर्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारीमा पनि कम्पनी लागेको छ ।
हाल सरकारी निकायमात्र कम्पनीको शेयर सदस्य छन् । वन तथा वातावरण मन्त्रालय, कृषि विकास बैंक, नेपाल औषधि लिमिटेड र वन पैदावर विकास समिति कम्पनीको शेयर सदस्यका रूपमा रहेका छन् । सर्वसाधारणलाई पनि शेयर बिक्री गरेर कम्पनीको पूँजी वृद्धि गरी जडीबुटी उद्योग प्रवद्र्धन गर्ने लक्ष्यअनुरुप कम्पनीले काम गरिरहेको छ ।
नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छन् । वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ । हाल ३०० वनस्पति व्यापारिकरूपमा प्रयोग भइरहेको छ । यसमध्ये कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको महाप्रबन्धक कार्की बताउछन् ।रासस