१० माघ २०८१, बिहिबार

राजनीतिप्रतिको वितृष्णालाई हटाउन रामचन्द्र पौडेलको ‘टिप्स’

प्रकाशित मिति :  28 November, 2021 4:42 pm


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिप्रति बितृष्ण बढिरहेको भन्दै यसलाई हटाउनुपर्नेमा जोड दिएका छन् ।

पत्रकार सम्मेलन गरेर राजनीतिका दश सुत्र सार्वजनिक गरेका पौडेलले राजनीतिप्रतिको वितृष्णालाई कसरी हटाउने भनेर सुझाव राखेका छन् । पौडेलले दिएको सुझाव यस्तो छ :

देशको राजनीति विषम मोडमा छ । विगत तीन चौथाई शताब्दीदेखि लोकतन्त्रको निमित्त गरिएका संघर्षले आशातित परिणाम दिन सकेका छैनन् ।

आम मानिसमा राजनीतिप्रति वितृष्णा पैदा भएको स्थिति छ । युवाहरु राजनीतिबाट क्रमशः पलायन हुँदै गएको पाईन्छ । आमनागरिकमा राजनीति, राजनीतिक दल र नेतृत्व वर्गप्रति सद्भाव र सम्मानको भाव घट्दै गएको छ । राजनीतिप्रतिको यो वितृष्णा पैदा हुनुको कारणमा नेतृत्व सम्हालेका व्यक्तिको आचरण, व्यवहार र चरित्र जिम्मेवार छन् ।

विगत ७५ वर्षदेखि आम नागरिक लोकतन्त्रको स्थापनार्थ र रक्षार्थ लगातार सडकमा उत्रनु परिराखेको छ । तर, लोकतन्त्र केही सीमित स्वार्थी तत्वहरुको हतियार भएको छ । लोकतन्त्रलाई चुनावमा सीमित गर्न खोजिएको छ र त्यही चुनाव पनि ईमान्दारीपूर्वक हुन सकेको छैन । पार्टीको होस् वा राजनीतिको होस्, पैसाको खोलो बगाएर चुनाव जित्ने प्रवृत्तिबाट जनता दिक्क छन् ।

आवधिक निर्वाचनले मात्र लोकतन्त्रको ग्यारेन्टी गर्दैन, यो त एउटा संस्कार हो । व्यक्ति व्यक्तिमा लोकतान्त्रिक आचरण, हरेक संस्थाहरुमा लोकतान्त्रिक व्यवहार र हरेक पार्टीमा लोकतान्त्रिक संस्कारले मात्र लोकतन्त्र मौलाउँछ । लोकतन्त्रको जग  मजबुत हुन्छ । आवधिक निर्वाचनका साथ साथै संस्थाहरु पारदर्शी, जिम्मेवार र जवाफदेही भएमात्र लोकतन्त्र मजबुत  हुनसक्छ ।

यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र पनि उत्तिकै महत्वपूर्ण हुन्छ । अन्ततः देशमा लोकतन्त्रको विकास गर्ने जिम्मेवारी पार्टीहरुको हो । त्यसैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रविना देशमा लोकतन्त्रको संस्थागत विकास हुन सम्भव छैन । आफैंले निर्धारण गरेको संगठनको ढाँचाअनुसार, आफैंले बनाएको विधानअनुसार पार्टी चल्न सक्ने कि नसक्ने ? आज बुद्धिजीवीहरुले प्रश्न उठाइरहेका छन् । पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रश्न बारबार कांग्रेसमाथि उठिरहेको छ ।

नेता बलिया, पार्टी कमजोर । अर्थात् कमजोर पार्टीको बलियो नेता लोकतन्त्रका लागि हितकर मानिँदैन । कुनै पनि लोकतान्त्रिक दलमा नेता होइन नीति अपरिहार्य हुनु पर्दछ । विधि, पद्दति र नियम अपरिहार्य हुनु पर्दछ । यसो भएमात्रै पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित हुन्छ । नेताको अनुकूलमा विधि–पद्दति चल्ने हैन, विधि–पद्दति अनुकूल नेता चल्नु पर्दछ । चाहे पार्टी सञ्चालन होस् या राज्य, व्यक्ति होइन, विचार र विधिप्रधान हुनुपर्छ ।

हामी लोकतन्त्रको संस्थागत विकास गर्नेक्रममा छौं । यस्ता कुरातर्फ गम्भीर नहुने हो र आफ्ना सुविधा अनुकूल विधि–पद्दति सञ्चालन गर्ने हो भने यहाँ लोकतान्त्रिक व्यवस्थाको निर्माण हुनै सक्तैन । अहिले नेपालमा जवाफदेहिताको अभाव खड्कीँदै गएको छ । जनताप्रति उत्तरदायीत्वको भावनाको परित्याग भइरहेको छ ।

जनताले दिएको जिम्मेवारी भुलेर जनप्रतिनिधिले सदनको उपेक्षा गर्ने, संविधानले नदिँएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा नै विघटन गरिदिने र समस्याको समाधान खोज्न राजनीतिक मञ्चभन्दा बाहिर अदालतको शरणमा पुग्नुपर्ने जस्ता अवस्थाहरुको सिर्जना भइरहेका छन् ।

यसरी राजनीतिक क्षेत्र पङ्गु बन्दै जान थालेपछि, राजनीतिक संस्थाहरुमा भर पर्न नसकिने भएपछि समाधानको खोजीमा कहाँ कहाँ पुग्नुपर्ने हो, अराजकता बढ्दै जाँदा राजनीति कसको हातमा पुग्ने हो ? गम्भीर प्रश्न उठिरहेका छन् । आज कांग्रेसलाई आफ्ना नेताहरुका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता छ । नेताको भक्तिमा लिप्त नभइकन, मुलाहिजामा नलागिकन निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनु पर्दछ ।

महाधिवेशनले कसलाई कुन पदमा चयन गर्छ भन्ने मात्र प्रश्न होइन, यो भन्दा अहं प्रश्न यसले कुन दिशामा पार्टीलाई लैजान्छ भन्ने हो । कुन विचार र पद्दति स्थापित गर्छ भन्ने मुख्य चासो हो । द्ध नेपालमा लोकतन्त्र सुरक्षित र दीगो बनाउन नेपाली समाजमा लोकतन्त्रको जरा गहिरो गरी गाड्ने अभियानस्वरुप नेपाली समाजलाई लोकतान्त्रीकरण र लोकतान्त्रिक व्यवहार र आचरणमा अभ्यस्त गराउने अभियान नै चलाउनु अपिहार्य छ ।

यो अभियान अरु कसैले चलाउन सक्तैन, लोकतन्त्रकै लागि जन्मेको र लोकतन्त्रको पहरेदार रहदै आएको नेपाली कांग्रेसले नै चलाउनु पर्नेछ । नेपाली समाजमा लोकतान्त्रीकरणको अभियान चलाउने अभिभारा बोक्नुपर्ने पार्टी नेपाली कांग्रेस पहिले आफैं आचरण, व्यवहार र अठोटबाट लोकतान्त्रिक हुनु जरुरी छ । अर्थात्, कांग्रेस पार्टीभित्रै आन्तरिक लोकतन्त्र र लोकतान्त्रिकरणको आवश्यकता छ ।

र, यसका लागि लोकतान्त्रिक र वैचारिक नेतृत्व आवश्यक छ । विचारले नै कुनै पार्टी र समाजलाई अगाडि जाने बाटो  देखाउँछ । लोकतान्त्रिक विचार र आचरण नभएको नेतृत्वले न पार्टीलाई रुपान्तरण गर्न सक्छ न देशलाई नै ।



प्रतिक्रिया दिनुहोस !