ढाकामा ग्रामीण अर्थतन्त्र उकास्ने सम्भावना छ: अध्यक्ष गिरी
काठमाडौं । नेपाली परम्परासँग जोडिएको ढाकाबाट उत्पादित सामाग्रीको प्रचार र प्रवद्र्धनसहित राष्ट्रिय र अन्तराष्ट्रिय बजारमा लैजान नेपाल घरेलु तथा साना उद्योग महासंघले पहल थालेको छ । महासंघका अध्यक्ष श्यामप्रसाद गिरिले ढाकाको प्रवद्र्धन गरिए यसले ग्रामीण अर्थतन्त्रलाई उकास्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
घरेलु तथा साना उद्योग महासंघले महासंघ अन्तर्गतको नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघसँग मिलेर यो प्रयास थालेको हो ।
संघले आयोजना गरेको कार्यक्रममा गिरिले भने “ढाका हाम्रो मौलिक पहिचान र जनजीवनसँग जोडिएको छ ।ब्युटी पार्लरमा भन्दा बढी महिला रोजगारी सृजना गरेको ढाका तथा ह्यान्डमुल उद्योग क्षेत्रलाई प्रवद्र्धनको खाँचो छ ।”
नक्कली सामानले एक समय ओझेल परेका ढाका उद्योगीले पछिल्लो समय उत्पादनमा विविधीकरण ल्याउँदा आन्तरिक र विश्व बजारमा यसको माग बढ्दै गएको उनले जनाए ।
“फेसन स्कुलहरूले पनि ढाकाबाट उत्पादित कपडालाई महत्व दिँदा फेसनको दुनियाँमा पनि ढाकाबाट उत्पादित कपडा अगाडि रहेको छ” अध्यक्ष गिरीले भने ।
ढाका र अल्लो उद्योगलाई राष्ट्रिय उद्योगका रुपमा संरक्षण गर्न सरकारले प्रतिबद्धता जनाएको उनले बताए ।
नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले पुसको पहिलो सातामा नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनी आयोजना गरिरहेको छ । प्रदर्शनीमा ४० बिक्री कक्ष राखिने छन् ।