माछा उत्पादक जिल्लाको रूप लिँदै दाङ
देउखुरी । दाङमा पछिल्लो समयमा माछापालन व्यवसाय फस्टाउँदै गएको छ । नदी, खोला र प्राकृतिक पोखरीमा पालिने गरेकामा अब कृत्रिम पोखरी बनाएर व्यावसायिक रुपमा पालिएको माछाले यहाँको माग धान्न थालेको छ ।
राम्रो आम्दानी हुन थालेपछि माछापालन व्यवसायमा कृषकको आकर्षण बढ्दै गएको हो ।
जिल्लामा केही वर्ष अघिसम्म थोरैले माछापालन गर्दै आए पनि अहिले व्यावसायिक रूपमै माछापालन गर्ने किसान बढ्दै गएका छन् । माछापालनका लागि दाङमा उपयुक्त माटो र हावापानीले साथ दिएकाले यसतर्फ किसानको रुचि बढेको छ ।
देउखुरी उपत्यकाअन्तर्गत लमही नगरपालिका र गढवा गाउँपालिकामा माछापालन निकै फस्टाएको छ । घोराही उपहानगरपालिका– ५ धर्ना त माछापालनका लागि पकेट क्षेत्र घोषणा नै गरिएको छ ।
त्यहाँ माछापालक किसानलाई भेटेरीनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र मत्स्य विकास केन्द्रले अनुदान तथा प्राविधिक सहयोग पु¥याउँदै आएको छ ।
जिल्लाका बजारमा माछाको माग बढेसँगै माछापालनमा आकर्षण बढ्दै गएको माछा उत्पादक किसान बताउँछन् । थोरै लगानीमा धेरै आम्दानी हुने भएकाले यस व्यवसायमा आकर्षण बढ्दै गएको घोराही –५ धर्नाका कृषक सरोज डिसीले बताए । उनले कृषि फर्म स्थापना गरी १७ पोखरीमा करिब दुई लाख माछापालनबाट वार्षिक रु ४० लाख बराबरको आम्दानी गर्दै आएका छन् ।
उनले माछापालनबाट राम्रो आम्दानी भएपछि खेतीयोग्य जमिनमा पोखरी बनाई माछापालन व्यवसाय सुरु गरेका हुन् । उनले माछाको हेरचाह र दाना दिनका लागि दुई स्थानीयवासीलाई रोजगारी पनि दिएका छन् । उनले भने , “व्यावसायिक रूपमै माछापालन गर्न थालेकाले व्यवसायमा लगानीसमेत बढ्दै गएको छ ।”
उत्पादित माछा घोराही र तुलसीपुरका बजारमा लगिने तथा स्थानीयस्तरका व्यापारीले खरिद गरेर लाने गरेको उनले बताए ।
लमही –५ का टीकाराम गिरीले तीन बिघा क्षेत्रफलमा पोखरी बनाई माछा पालन गरेका छन् । रु २० लाखका लगानीबाट व्यवसाय सुरु गरेका उनको अहिले लगानी बढेर रु ८० लाख भएको र वार्षिक रु २५ लाख आम्दानी हुने गरेको छ । उनले उत्पादन गरेको माछा दाङका लमही, भालुवाङ र गढवाका साथै छिमेकी जिल्लामा समेत निर्यात हुने गरेको छ । माछापालन व्यवसायबाट आफू सन्तुष्ट भएको उनले बताए । “
अरू व्यवसायभन्दा माछा पालेर राम्रो आम्दानी भएको छ, त्यसैले हामी यता लागेका हौँ”, उनले भने ।
स्थानीयवासी वीरबहादुर रावतले घोराही –१८ रझेनामा चार वर्षदेखि माछा बिक्री गर्दै आएका छन् । भ्याली फ्रेस हाउसका सञ्चालक रावत दैनिक २० देखि ३० किलो माछा बिक्री गर्छन् ।
पहिले कुखुरा काटी बिक्री गर्ने उनी अचेल पसलका छेउमा सानो पोखरी बनाएर जिउँदो माछा राखी ग्राहकको मागअनुसार जिउँदो माछा बिक्री गर्छन् । “गर्मीमा भन्दा जाडो समयमा माछा धेरै खपत हुने गर्छ, दाङमा उत्पादन भएको माछाले यही जिल्लालाई धान्छ ”, उनले भने । उनका अनुसार अनुसार देउखुरी र दाङमा उत्पादन भएको माछा बाह्रै महिना उपलब्ध हुने भएकाले सजिलो भएको छ ।
माछाको जातअनुसारको मूल्य फरकफरक हुन्छ । उनी बैखा, सहु, कमनग्रास र रूपचन्दन जातका माछा बिक्री गर्छन् । प्रायः दीर्घरोगी र अन्य रोगीले माछा खाने गरेको उनको भनाइ छ । रावत प्रतिकिलो जिउँदो माछा प्रतिकिलो रु ३६० देखि ४४० सम्म बिक्री गरी दैनिक राम्रो आम्दानी गर्छन् ।
माछामा प्रशस्त भिटामिन ‘डी’ पाइन्छ । यसको सेवनबाट क्याल्सियम पनि प्राप्त भई मानिसको हाड बलियो गराउँछ । नियमित माछा खानाले दिमाग सधैंँ तेजिलो रहन्छ र दृष्यशक्ति बढाउनका साथै आँखालाई सधैंँ स्वस्थ्य राख्छ । उच्च रक्तचाप नियन्त्रण गर्न माछाको सेवन गर्नुपर्ने चिकित्सक सुझाव दिन्छन् । रातो मासु पचाउन झण्डै ३२ देखि ३६ घण्टा लाग्ने गर्छ तर माछा दुईदेखि तीन घण्टामा पच्छ ।
खासगरी धान उत्पादनका तुलनामा पाँचदेखि १० गुणा बढी उत्पादन तथा आम्दानी हुने भएपछि यसतर्फ कृषकको आकर्षण बढेको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र घोराहीका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले बताए । बजारमा भारतबाट ल्याइने माछाको आयात कम गर्न र माछा उत्पादनले जिल्ला आत्मनिर्भर बनोस् भनेर ‘मत्स्य उत्पादन विशेष कार्यक्रम’ अन्तर्गत दाङमा कार्यक्रम अगाडि बढाइएको हो ।
“अहिले रोजगारीका लागि युवा विदेश गइरहेको अवस्था छ, विदेश जाने युवाले सानो लगानीमा पनि माछापालन व्यवसाय गर्न सक्छन् । त्यसैले तिनलाई माछापालन व्यवसाय गर्न प्रोत्साहन होस् भनेर आवश्यक सीप सिकाउने गरेका छौँ”, उनले भने ।
जिल्लामा बर्सेनि माछापालन व्यवसायी बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङको तथ्याङ्कमा उल्लेख छ ।
मत्स्य विकास अधिकृत यादवका अनुसार हालसम्म माछापालनमा करीब रु सात करोड लगानी भएको छ । जिल्लामा दुई सय १७ कृषकले माछापालन व्यवसाय गर्दै आएकामा ६५ जनाले व्यावसायिक रुपमा माछापालन गर्दै आएको कार्यालयको भनाइ छ । जिल्लामा ५०१ पोखरी तथा ३० घोलताल (प्लाष्टिकको आधुनिक पोखरी) मा माछापालन गरिँदै आएको छ । माछापालन गरिने क्षेत्रफलसमेत बढ्दै छ ।
यादवका अनुसार दुई वर्षअघि १२५ हेक्टर क्षेत्रफलमा माछापालन भएकामा अहिले करिब १४१ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुरु भएसँंगै माछापालन व्यवसायलाई प्रवद्र्धनका लागि अनुदान सहयोग हुन थालेपछि जिल्लामा माछापालन व्यवसाय बढ्दै गएको छ ।
जिल्लामा बैखा जातको माछा एक कठ्ठामा चार क्विन्टल तथा कार्प जातको माछा दुईदेखि चार क्विन्टल उत्पादन हुने गरेको छ । खासगरी बैखा र मङ्गुर जातका माछा भारतमा उत्पादन हुन्छ भने कार्प र रहु जातका माछा यहाँ उत्पादन हुन्छ ।
पछिल्लो समय जिल्लामा माछापालन व्यवसायमा यान्त्रिकीकरण अभिवृद्धि भई उत्पादन क्षेत्रफल र परिमाणसमेत बढेको छ । यहाँ उत्पादन भएको माछाले माग धान्ने गरी गतिविधि गरिएको छ ।
हाल जिल्लामा उत्पादित माछा छिमेकी बाँकेको नेपालगञ्जलगायत पहाडी जिल्ला रोल्पा, रुकुम, सुर्खेत, सल्यान र प्युठानमा निर्यात गरिन्छ । माछाको बजार राम्रो रहेकाले कृषकलाई राम्रो फाइदा भएको भेटेरिनरी अस्पताल दाङले जनाएको छ ।
दाङमा माछा खपत पनि बढ्दै गएको छ ।
केही वर्षअघिसम्म भारतबाट ल्याएर उपभोग हुने गरेकामा अहिले आन्तरिक उत्पादनले बजार धान्न थालेको छ । कुनै समय माछाका लागि अरू जिल्लामा भर पर्ने दाङले अहिले बर्सेनि करिब ६ सय मेट्रिक टन माछा उत्पादन गर्ने गरेको मत्स्य विकास अधिकृत यादवले जानकारी दिए ।
जिल्लाका करिब २२५ व्यावसायिक कृषक माछापालनमा आबद्ध छन् । बर्सेनि करिब ६ सय मेट्रिक टन उत्पादन हुने भेटेरिनरी अस्पताल दाङले जनाएको छ ।
कुनै समय कार्प प्रजातिका माछा मात्रै पालन हुने गरेको जिल्लामा अहिले पङ्गास प्रजातिका माछापालन हुन थालेसँगै माछा उत्पादनमा बढोत्तरी भएको मत्स्य विकास अधिकृत यादवले बताए । “पहिलेपहिले कार्प प्रजातिमा कमन, सिल्भर, रहु, नैनीलगायत माछापालन हुन्थ्यो । अहिले त पङ्गास प्रजातिका बैखालगायत माछापालन हुन थालेसँगै उत्पादन पनि बढेको छ”, यादवले भने ।
खासगरी, चैत, वैशाख, जेठ महिनामा बाहिरी जिल्लाको माछामा भर पर्नुपर्ने अवस्था रहेकामा बिस्तारै निर्भरता अन्त्य हुने चरणमा छ ।
बाँकी समय भने यहीँको उत्पादनले बजारको माग धान्ने गरेको छ । व्यावसायिक रुपमा माछापालन गर्ने कृषकको आकर्षण बढ्दै गएको र सरकारले पनि माछापालनका लागि कृषकलाई सहुलियत प्रदान गर्ने नीति बनाएकाले यसतर्फ कृषकको रुचि बढ्दै गएको छ ।
विज्ञ केन्द्रका प्रमुख डा वेदबहादुर केसीले जिल्लामा माछाको खपत बढाउनका लागि बाह्रै महिना उपलब्ध हुन सक्ने गरी योजनाका साथ कार्यविधि बनाएर काम गर्न थालिएको बताए । उनका अनुसार जिल्लामा अहिले पनि वार्षिक प्रतिव्यक्ति १ दशमलव ०८ केजी माछा मात्रै खपत हुने गरेको छ ।
माछा उत्पादन बढाउन र कृषकलाई मत्स्यपालनमा टेवा दिन चालु आर्थिक वर्ष २०७८ । ०७९ का लागि लुम्बिनी प्रदेश सरकारबाट फिस मिसन कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन भएको मत्स्य विकास प्रमुख डा केसीले बताए । उनका अनुसार उक्त रकम पोखरी निर्माणका लागि माछापालक कृषकलाई सहुलियतमा प्रदान गरिनेछ । सोअन्तर्गत प्रतिहेक्टर पोखरी निर्माणका लागि रु पाँच लाख विनियोजन गरिएको छ ।
केन्द्रले जिल्लामा माछापालन प्रवद्र्धन गर्न र नदीको पर्यावरणीय सन्तुलन कायम गर्ने बबई खोलामा यही मङ्सिर ६ गते मत्स्य दिवसका अवसरमा रहु र नैनी जातका पाँच हजार माछाका भुरा छाडेको छ । दाङ मत्स्य व्यवसायी सङ्घका अध्यक्ष विवेक श्रेष्ठ जिल्लालाई माछाको पनि पहिचान दिन र आत्मनिर्भर बनाउन संस्था लागिपरेको बताउछन् ।
सङ्घले मत्स्यपालकलाई प्राविधिक सहयोग गरिरहेको जनाइएको छ । “जिल्ला माछापालनमा आत्मनिर्भर हुँदै गएकामा हामी खुशी छौँ, माछापालन व्यवसायलाई आधुनिकीकरण गर्दै लैजानुपर्छ ”, उनले भने , “स्थानीय तहले पनि माछाको बजारीकरणमा भूमिका खेल्नुपर्छ ।”
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले माछा व्यवसायीलाई प्रोत्साहन गर्न कृषि कार्यक्रम ल्याइने जानकारी दिए । उनका अनुसार माछाको बजारीकरणका लागि आफ्नो उपमहानगरपालिकाले निश्चित ठाउँमा बिक्री केन्द्र स्थापना गर्ने छ । रञ्जिता अधिकारी/रासस