९ मंसिर २०८१, आइतबार

धर्म परिवर्तन सम्बन्धी कसुरमा पास्टरलाई जेल सजाय

प्रकाशित मिति :  1 December, 2021 7:12 am


काठमाडौं । जिल्ला अदालत डोल्पाले धर्म परिवर्तन सम्बन्धी कसुर मुद्दामा पास्टर केशव आचार्यलाई २० हजार जरिवाना सहित २ वर्षको जेल सजाय सुनाएको छ ।

जुम्ला सिंजा स्थायी ठेगाना भई हाल कास्की पोखरा महानगरपालिका सुकुम्बासी टोल बस्ने पास्टर आचार्यलाई सजाय सुनाएको हो ।

जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर केशवराज आचार्यलाई धर्म परिवर्तन गराएको ठहर गर्दै २० हजार जरिवाना र २ वर्ष कैद सजाय सुनाएको हो ।

“प्रतिवादी केशवराज आचार्यलाई मिति २०७८÷०८÷१४ गतेदेखि लागू हुने गरी मिति २०८०÷०६÷२० सम्म निजलाई नियमानुसार निजले पाउने सिधा खर्च र अन्य सुविधा उपलब्ध गराई कैदमा राखी मिति २०८०÷०६÷२१ मा कैद मुक्तगरी सोको जानकारी यस अदालतलाई दिनुुहुन अनुरोध ।”, अदालतले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ । मुलुकी अपराध संहिताको दफा १५८ को (१) मा कसैले कसैको धर्म परिवर्तन गराउन र धर्म परिवर्तनको उद्योग गर्न नहुने उल्लेख छ ।

त्यस्तै कुनै धर्म परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने पनि उल्लेख छ । धर्म परिवर्तन गराएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

उनले फुकेर पायल्स ठिक गरेको भन्ने भिडियो सामाजिक सञ्जालमा भइरल भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !