माओवादी आन्दोलन र पार्टीको पुनर्गठन
यो टिप्पणी लेख्दै गर्दा प्रायः सबै मुख्य राजनीतिक दल महाधिवेशन वा राष्ट्रिय सम्मेलनको सन्निकट छन् । मेरो टिप्पणी खासगरी माओवादी आन्दोलन र माओवादी केन्द्रको आसन्न राष्ट्रिय सम्मेलनसँग सम्बन्धित छ ।
जब राजनीतिक दलमा एक व्यक्ति हावी हुन्छ, उसका सबै कुरा सर्वसम्मत हुन थाल्दछ, सैद्धान्तिक छलफल हुन छोड्दछ; निश्चितनै त्यो पार्टी मृत्युशैय्यामा पुग्दैछ ।
चुनवाङ बैठकपछाडि स्वस्थ वैचारिक छलफल नहुँदा माओवादी आन्दोलन नेताको कठपुतली भयो । बाबुराम भट्टराईलगायत सबै नेता कार्यकर्ता प्रचण्डमा विलीन हुँदा ‘यस–म्यान’को झुण्ड बन्यो ।
अध्यक्ष प्रचण्डमा समाहित बाबुराम भट्टराईले जे नीति तय गरे, बिनाछलफल त्यही नीति पारित हुने र बाँकी नेता कार्यकर्ताको काम त्यो नीति-योजना कार्यान्वयन गर्नेमात्रै भयो जसका कारण नेताहरू स्वेच्छाचारी भए जे गर्दा नेताको प्यारो हुइन्छ, त्यही गर्ने चाप्लुसहरूको भीड बढ्यो ।
तिनै चाप्लुसहरू जनतामा माओवादी भनेर चिनिए,जसका कारण माओवादी पार्टीले आन्दोलनको सांस्कृतिक विरासत गुमायो। पाखण्डी सिल्लीहरूको हालीमुहाली भयो । हिजो जीवन आहुति दिन तयार कमाण्डर हेर्दाहेर्दै सरदार भयो । हुँदाहुँदा यतिसम्म भयो कि बिनाछलफल एमालेजस्तो प्रतिगामी पार्टी र शक्तिसँग माओवादी केन्द्रको एकता गरियो ।
यो एकता विशुद्ध आन्दोलनका एजेण्डा कार्यान्वयन गर्नभन्दा पनि व्यक्ति व्यवस्थापनलाई केन्द्रमा राखेर केन्द्रीय तहका भनिएका केही सिल्लीले गरेको गम्भीर अपराध थियो। दुवै पक्षका नेता कार्यकर्ता बीचमा पर्याप्त सैद्धान्तिक छलफल नचलाइ व्यक्ति व्यवस्थापन केन्द्रमा राखेर निर्वाचन केन्द्रित त्यो एकता ’लुटेरा–एकता’ थियो यति लेख्न मैले हात कमाउनु परेन् । त्यसैले लुटेरा एकतामा सधैँ भाग मिल्दैन/ मिल्ने सम्भव पनि थिएन – टुट्यो।
पार्टी एकता व्यक्ति व्यवस्थापनलाई केन्द्रमा राखेर गरिएझैँ माओवादी आन्दोलनको विभाजन पनि व्यक्ति व्यवस्थापनलाई केन्द्रमा राखेर नै भएको थियो ।
मुख्य रूपमा सीपी गजुरेलको प्रचण्डसँगको जुँगाको लडाइँ, सीपी र मोहन वैद्य ’किरण’ कोआन्तरिक सम्बन्ध, गृहमन्त्री हुन नपाएको विप्लवको झोक, बादलको कुण्ठा, प्रचण्ड बाबुरामको स्वार्थकेन्द्रित एकता र प्रचण्डलाई सिध्याउन बाबुरामले रचेको चक्रव्युह, नारायाकाकाजीको उपस्थिति जस्ता धेरै आन्तरिक कारणले गर्दा माओवादी आन्दोलन क्षत–विक्षत भयो ।
पार्टी विभाजनको चक्रव्यूहको कार्यान्वयन बाबुराम भट्टराईले रामबहादुर थापा ’बादल’लाई प्रयोग गरी सुरुगरेका थिए । पोखराबाट मनाङ-मुस्ताङ भ्रमणमा जाँदा तत्कालीन अर्थमन्त्री भट्टराई र तत्कालीन रक्षामन्त्री ’बादल’ एकै हेलिकोप्टरमा यात्रा गरेका थिए । त्यही यात्रामा सेनापति प्रकरणको बिजारोपण हुन्छ्र त्यसको डिजाइनर थिए बाबुराम भट्टराई उनको त्यो चक्रव्यूहमा प्रचण्ड मात्र होइन, सिङ्गो माओवादी आन्दोलन नै प¥यो ( हेलिकप्टरमा भएको सम्पूर्ण बातचितको परिणाम मात्र लेखेँ । यो प्रसंगको स्रोत टोपबहादुर रायमाझी हुन्छ अब उनले अस्वीकार गरे उनै जानुन्)
माओवादी आन्दोलन केही टाउकेको पेवा होइन । यो त आम उत्पीडित समुदायको रगत पसिनाको जगमा निर्मित आशाको दियो थियो र अझै छ । माओवादी जनयुद्धमा धेरै जनधनको क्षति भएको छ्र । हजारौँको मृत्यु, हजारौँ घाइते, हजारौँ बेपत्ता छन् । ती साथीहरू र हामीले देखेको संयुक्त सपना पूरा गर्ने जिम्मा हामी नाफाको जीवन बाँचिरहेका माओवादीहरूको नै हो ।
माओवादी पार्टी र आन्दोलनलाई मक्किएको घर भनेर भागेका भगौडा बाबुराम (जसलाई शकुनी भन्नु अलि उपयुक्त होला!)लाई नेपाली क्रान्तिकारी जनता र इतिहासले माफी दिने छैन । आफूलाई नयाँ दार्शनिक साबित गर्न बाबुरामले गरिरहेका क्रान्तिको मर्म र भावना विपरीतका कार्य नेपाली क्रान्तिकारी जनसमुदायले नोट गरिरहेको छ ।
यदि माओवादी केन्द्र पार्टीको भव्यता पुनः कायम गर्ने हो भने, अध्यक्ष प्रचण्ड, जनार्दन शर्मा ’प्रभाकर’, कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायतले व्यक्ति व्यवस्थापनलाई केन्द्रमा राखेर एमालेसँग गरिएको एकता गल्ती थियो भनेर स्वीकार्दै त्यसको निम्ति माफी माग्नु पर्दछ ।
क्रान्तिकारी जनसमुदायसँग माफी माग्दा नेता–कार्यकर्ताको हाइट घट्दैन, बरू बढ्नेछ । संसारभरका माओवादी आन्दोलनले स्वीकार्ने कुरा हो, जनतासँग सिक्ने र जनतालाई नै सिकाउने एमालेसँगको एकता मनोगत थियो, त्यो पर्याप्त तयारीसहित भएको थिएन् त्यस्तो सम्झौता गर्ने अर्को पक्षका मान्छेको चरित्र र उद्देश्यको बारेमा अध्ययन गरी स्पष्ट हुने र पार्टीभित्र एकताको निम्ति आवश्यक छलफल चलाइएको थिएन् । यो तीतो–सत्यलाई स्वीकार नगरी माओवादी आन्दोलन नयाँ उचाइँमा पुग्न सम्भव छैन् । त्यतिमात्र होइन नेता तथा कार्यकर्तामा भएको विचलन तथा भ्रष्टीकरणको जवाफ नखोजी पनि सुख छैन ।
खासगरी प्रचण्डपथ परित्याग गरेपछि विचार विकास गर्ने कुरामा कसैले ध्यान दिएन । सिद्धान्त, विचार , कार्यनीति, कार्यक्रम, उद्देश्य, त्यसको आवश्यकताजस्ता कुराको बारेमा छलफल भएन् । कतै अनुमोदित नभएका हुक लाएर केन्द्रीय सदस्य भएकाहरूलाई जम्मागरी ताली पिटाउने काम मात्र भयो । ४००० भन्दा धेरै व्यक्ति भएको केन्द्रीय समिति बनाइयो । त्यो किन आवश्यक थियो ? चर्चा गरिएन त्यसैगरी परिवर्तनले माग गरेको नीति सहितको नेतृत्वको निम्ति पहल भएन, त्यो प्रक्रिया सुरु भएन ।
माओवादी पार्टीको सदस्य, पार्टीको नाममा भाट लिएर विभिन्न तहमा निर्वाचित भएपछि के गर्ने हो – स्पष्ट उद्देश्य भएन किनकि त्यसको निम्ति सम्बन्धित तहमा निर्वाचित हुन टिकट प्राप्त गर्ने सदस्यले पार्टी संगठनमा सम्बन्धित तहका समाजका अन्तरविरोध र समाधान,सम्बन्धित तहको आवश्यकता,संविधान कार्यान्वयनको योजना जस्ता विषयमा छलफल गर्नु परेन ।
कम्युनिष्ट पार्टीमा नीतिसहितको नेतृत्व भएको लोकतान्त्रिक अभ्यास भएन र आलोचनात्मक चेत भएका कार्यकर्ता भएनन् भने त्यो पार्टी कम्युनिष्ट पार्टी नभएर फासिवादी झुण्ड हुन्छ साथै दक्षिणपन्थी अवसरवादमा भासिन्छ्र त्यहाँ नया ठालु वर्गको उदय हुन्छ, अझ यसो भनौँ भुइफुट्टाहरूको हालीमुहाली हुन्छ ।
आज माओवादी आन्दोलनभित्र देखिएका घिनलाग्दा गतिविधि र ती गतिविधिसँग जोडिएका अनुहारको हालीमुहाली यसैका परिणाम हुन् । माओवादी केन्द्रले कसरी माओवादी आन्दोलनको प्रतिनिधित्व गर्दछ भनेर कुनै माओवादी नेता कार्यकर्तालाई सोध्दा गोलमटोल उत्तर दिन सकिएला तर ठोस उत्तर दिन सकिँदैन् ।
यति सबै हुँदाहुँदै पनि आजको दिनमा माओवादी आन्दोलनको मूल प्रवाह अध्यक्ष प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र पार्टी नै हो ।
माओवादी केन्द्रको नजिकिँदो राष्ट्रिय सम्मेलनको मुखमा निष्क्रिय र निराश सहयोद्धा कमरेड, क्रान्तिकारी समुदाय साथै माओवादी आन्दोलनप्रति प्रतिबद्ध साथीहरूसँग यो टिप्पणीमार्फत छलफल गर्दैछु ।
जब एकता केन्द्रबाट माओवादी पार्टीमा रूपान्तरण हुँदै थियो – त्यो बेला माओवादी पार्टीले माओवाद र भावी राज्यसत्ताको बारेमा केही सैद्धान्तिक संश्लेषण गरेको थियो । त्यसमा राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपतिको संरक्षण, दलाल पुँजी र पुँजीपतिको निषेध, आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण, श्रमलाई पुँजीको रूपमा मान्यता दिइने, वास्तविक श्रमजीवी किसानको उत्थान, उत्पादनमूलक निःशुल्क शिक्षा, स्वास्थ्य सेवा जनताको अधिकार, अतिरिक्त मूल्यमा श्रमिकको हक, श्रमलाई सम्मान गर्ने नयाँ संस्कृतिको स्थापना जस्ता विषय राज्यका आधारभूत कुरा हुनेछन् भनेर भनिएको थियो ।
अध्यक्ष प्रचण्डसहितको टिमलाई धन्यवाद दिन चाहन्छु, तमाम कमी–कमजोरीका बाबजुद, आफ्नो शक्ति कमजोर हुँदासमेत माओवादी जनयुद्धका दौरान संश्लेषण गरिएका एजेन्टालाई स्थापित गरी अधिकांश एजेण्डा संविधानमा समाहित गरिएको छ ।
संविधानको ‘भाग ४’संविधानको मुटु हो ।
भाग ४ को पहिलो धारा ‘धारा ४९’हो, जसको उपधारा १ मा भनिएको छ “यस भागमा रहेको निर्देशक सिद्धान्त, नीति तथा दायित्व राज्य सञ्चालनको मार्गनिर्देशनका रूपमा रहनेछ” यसै धाराको उपधारा २ मा “राज्यले यस भागमा उल्लेखित सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन गर्न आवश्यकता अनुसारको स्रोत साधन परिचालन गर्ने गराउनेछ ।“ त्यस्तै भाग ४ अन्तर्गत धारा ५० र ५१ अत्यन्तै महत्वपूर्ण छन् । जुन धाराहरूले हामीले जनयुद्धको सुरुवाती दिनमै संश्लेषण गरेका एजेण्डालाई संविधानको अंश बनाएका छन् । रूपमा जे देखिए पनि सारमा अव यी एजेण्डा कार्यान्वयन गर्ने या नगर्ने बीचको द्वन्द्व नै अहिलेको मुख्य द्वन्द्व हो ।
हामी समाजवाद स्थापनाको आन्दोलनको पहिलो खण्डको मध्यान्तरमा छौँ । जनयुद्धको रूप फेरिएर, शान्तिपूर्ण संघर्षको क्रममा हामीले अधिकांश हाम्रो एजेण्डा सहितको एकथान संविधान बनाएका छौं । प्रतिक्रयावादी, दलाल पुँजीपति, हामीभित्रै हुर्किएको राजनीतिक ठालु वर्ग, हिजो राज्यको सम्पत्ति दोहन गर्न पाएको तप्का यो संविधान च्यात्न चाहन्छन् । र, त्यसको निम्ति प्रयत्नरत छन् । संविधान सभाको निर्वाचनभन्दा गाह्रो संविधान जारी गर्नमा भयो ।
जनयुद्धसहितका तमाम संघर्षभन्दा जटिल र गहन संघर्ष यो संविधान लागु गर्न हुनेछ । यो संविधानले प्रष्ट शब्दमा श्रमलाई सम्मान गर्ने संस्कृति निर्माणको परिकल्पना र आदेश गरेको छ । दलालहरूलाई यो कुरा बिझेको छ । क्रान्ति भनेर बुरुक्क उफ्रने किरण –विप्लव लगायतका कमरेडहरूले बुझ्नु पर्ने कुरा के हो भने यो संविधान लागु गर्न थाल्दा हुने उथलपुथल नै भावी क्रान्तिको आधार हुनेछ । त्यसैले मनोगत र व्याख्या नगरिएको ‘वैज्ञानिक समाजवाद’को काफल बेच्न छाडौं जग नबनाइ १०० तले घरको छत बन्दैन ।
कम्युनिष्ट पार्टीहरूको सहकार्य र एकताको लोकप्रिय तर अव्यवहारिक नारा बोकेर जब नाममात्रको कम्युनिष्ट सरकार बन्यो, त्यसले तय गर्ने नीति तथा कार्यक्रम, कानुन निर्माण, बजेट जस्ता विषय, पार्टीका सम्बन्धित विभाग, तह र निकाय साथै संसद र संसदीय दलमा छलफल भएन । यो नै दुर्भाग्यपूर्ण रह्यो कमिटी प्रणाली, दलभित्रको आन्तरिक लोकतन्त्र, घोषणा पत्रमा उल्लेख भएका कुराको पालना, सामूहिकता, पारादर्शिताजस्ता विषय लत्याइए ।
संविधानको धारा ५० र ५१ ले स्पष्ट व्यवस्था गरेका विषयहरूको प्रतिकूल हुने गरी सरकारको नीति तथा कार्यक्रम र बजेट तय गरियो । सरकारले यस्ता संगीन अपराध गर्दा समेत सांसद र पार्टीका निकायहरू मौन रहे । यो व्यक्ति व्यवस्थापन केन्द्रमा राखेर भएको राजनीतिको कुरूप अनुहार र दुर्गन्ध थियो । अझै पनि माओवादी केन्द्र लगायत सबै प्रमुख पार्टी यो रोगबाट ग्रस्त छन् । यो आजको मुख्य चुनौती हो ।
त्यतिमात्र होइन, माओवादी आन्दोलनको पुनरोदय भनेको माओवादी नेतृत्वमा रहेका विषालु सर्पहरूको पुनरोदय होइन, माओवादी एजेण्डा र नेपालको संविधान २०७२को स्वामित्व लिने, रक्षा र कार्यान्वयन गर्ने सक्षम माओवादी पार्टीको पुनरोदय हो भन्नेकुरामा हामी स्पष्ट हुनुपर्दछ । हाम्रो यात्रा माओवादी एजेण्डा र नेपालको संविधान २०७२को स्वामित्व लिँदै, रक्षा र कार्यान्वयन गर्ने उद्देश्यको निम्ति माओवादी पार्टीको शुद्धीकरण, एकता र विस्तारको निम्ति हो । यो भिन्नतालाई बुझौं।
तमाम कमी–कमजोरीका बाबजुद अध्यक्ष प्रचण्डको नेतृत्वले हाम्रा एजेण्डा भएको संविधान जारी गरेको छ । तर संविधान जारी भएको पहिलो दिनदेखि नै यो असफल बनाउन प्रयत्न सुरु भएको देख्दै आइएको छ । निर्वाचन एउटा ’ब्याटल’ हो, समग्र ’वार’ होइन । हामी निर्वाचनको ब्याटलमा पराजित भएका छौँ । अझै सम्भावना राम्रो छ । यो परिवर्तन उल्टियो भने हामी समग्र वार हार्नेछौं । तर यसको रक्षा गरी संविधान कार्यान्वयन हुँदा हामी समग्र वार जित्नेछौ । यसको मुख्य कारण हामी नै हौं ।
हामीमा भएको सांस्कृतिक विचलन, हामीभित्र विकास भएको राजनीतिक ठालुपन, संविधानको स्वामित्व लिन नसक्नु, यति राम्रो जनपक्षीय संविधानको बारेमा जनतालाई बुझाउन नसक्नु÷प्रयत्न नगर्नु, जनता सँगको सम्बन्ध कट्नु, राजनीति शक्ति प्रयोग गरी परिवार व्यवस्थापन गर्नु, सहिद, बेपत्ता परिवार र घाइतेलाई भुल्नुजस्ता अनेकन कारण हामीले निर्वाचन रूपी ब्याटल जित्ने संगठन र जनसम्बन्ध तयार गर्न सकेका छैनौं ।
अन्त्यमा हामीले आफ्नो टाउकोमा आफै आगो बाल्नु पर्दछ्र । निषेधको निषेध नियम हामी सबैमा लागु हुन्छ नै । हरेक तहमा नीति सहितको नेतृत्व हुने आन्तरिक जनवादको सुनिश्चितता, सैद्धान्तिक वैचारिक छलफल, सांस्कृतिक रूपान्तरण, फलामे अनुसासन सहितको पार्टी निर्माण गरी संविधान कार्यान्वयनको माध्यमबाट समाजवाद निर्माणको नेतृत्व लिनु आजको आन्दोलनको कार्यभार हो । निराश नबनौँ । क्रान्तिकारीले सम्भावनाको खोजी गर्ने हो । प्रयत्न गरौं । संगठन निर्माणका केही चमत्कारिक योजना समेत छन् । हामी सबै मिलेर समाजवाद निर्माणको निम्ति संघर्षलाई संगठित गरौं ।