‘नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट भेटिएको छैन तर सचेत रहनुस्’
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट नेपालमा अहिलेसम्म नभेटिएको जानकारी गराएको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ,“हालसम्म उक्त भेरीयन्ट नेपालमा फेला परिनसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पािरएको अवस्था छ ।”
नयाँ देखिएको यो भेरिएन्टलाई समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न नेपाल सरकार,स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा सबै निकाय तिब्र रुपमा एक भएर काम गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले कोभिड १९ को ओमिक्रोन भेरिएण्टको संक्रमणलाई ध्यान दिँदै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्ने हुन तथा साबधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले भनेको छ, “यो भेरीयन्ट बढी संक्रमक तथा सबै उमेर समूहका व्यक्तिहरूका व्यक्तिहरूमा असर पार्ने देखिएको छ । त्यसैले संक्रमण रोक्न हामी सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्य जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको जानकारीका लागि बिनम्र अनुरोध छ ।”