८ मंसिर २०८१, शनिबार

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

प्रकाशित मिति :  2 December, 2021 6:09 pm


काठमाडाैं । बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिएको छ । प्रदेशमा गठबन्धन सरकार गठन भएको ३५ दिनपछि न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।

कार्यदलका संयोजक युवराज दुलालले प्रदेश सरकारलाई प्रस्ताव गरिएको न्यूनतम साझा कार्यक्रम आजै सार्वजनिक गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हस्तान्तरण गरे । 

कार्यदलले प्रदेश सरकारलाई कोभिड–१९ को सामना तथा स्वास्थ्य क्षेत्रको सुदृढीकरण, सङ्घीयताको कार्यान्वयन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति सुरक्षाको प्रत्याभूति र सुशासन, आर्थिक नीति तथा कार्यक्रम तथा पर्यावरणीय सुरक्षामा प्रादेशिक भूमिकालगायत विषयमा प्राथमिकताका साथ काम गर्न योजनासहित प्रस्ताव गरिएको मुख्यमन्त्री पाण्डेले बताए । 

सो अवसरमा मुख्यमन्त्री पाण्डेले वाम लोकतान्त्रिक गठबन्धनको कार्यदलले समसामयिक जनहितका कार्यक्रम तय गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेकामा प्रशन्नता व्यक्त गरे । 

उनले प्रदेश सरकारसँगको समन्वयमा कार्यदलले साझा कार्यक्रम बनाएको उल्लेख गर्नुहुँदै प्रदेश सरकारले उक्त साझा कार्यक्रमलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । 

न्यूनतम साझा कार्यक्रममा कार्यदलका संयोजक दुलाल, कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक राधा घले, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधव पौडेल र मीना ज्ञवाली, नेकपा (माओवादी केन्द्र)को तर्फबाट बुद्धिमान माझीले हस्ताक्षर गरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस !