पितृको सम्झनामा सतबीज छरेर बाला चतुर्दशी मनाइँदै
काठमाडौं । आज बाला चतुर्दशी, आजका दिन बिहानै स्नान गरेर ‘सतबीज’ छर्ने चलन छ । मार्ग कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा सतबीज छर्ने गरिन्छ । पशुपति सहित देशभर रहेका विभिन्न शिव मन्दिरमा सतबीज छर्न भक्तजनहरुको भीड लागेको छ ।
मृत्युवरण गरेका पितृहरुको मोक्षयात्राकालागि आजको दिन महत्पूर्ण दिनका रुपमा लिइन्छ ।
सतबीज भन्नाले पितृ उद्धारसँग सम्बन्धित चर्चित धार्मिक वनहरु जस्तैः कैलाश डाँडा, श्लेष्मान्तक वन अनि अन्य आस्था गाँसिएका वनहरुमा गएर छर्ने सातप्रकारको अन्नहरु पर्दछन् ।
यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधानायूक्त शतविज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ । यि बाहेकका अन्य अन्नहरू चना, तील, मकै, कागती, निबुवा, विमिरो, सुन्तला, स्याउ, उँखु, अम्बा, केरा फलफुल तथा अन्न ठाँउअनुसार छर्ने चलन रहेका छन् ।
यसरी सतबीज छर्नका लागि त्रयोदशीका दिन राती जाग्राम बसेर दिप प्रज्वलन गर्दै, भजन किर्तन गर्दै चतुर्दशीका विहान स्नान गरेर सतबीज छर्ने गरिन्छ ।
यसरी पृथ्वीलोकमा छरिएको सतबीज पितृहरुको लोकमा गएर अंकुरण हुने र यिनै बीजहरूका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।