माओवादी केन्द्रद्वारा विधान परिमार्जन गर्न कार्यदल गठन,महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति
काठमाडौैं । नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्नका लागि कार्यदल गठन गरेको छ ।
स्थायी कमिटीको आज बिहान बसेको बैठकले देव गुरुङको संयोजकत्वमा ५ सदस्यीय विधान परिमार्जन कार्यदल गठन गरेको हो ।
कार्यदलको सदस्यमा पम्फा भुसाल, लिलामणी पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव सदस्य रहेका छन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मंसिर २५ गतेसम्म कार्यदलले विधान मस्यौदा प्रस्ताव गर्ने जानकारी दिए ।
बैठकले राष्ट्रिय सम्मेलनको व्यवस्थापनका लागि हितमान शाक्यको संयोजकत्वमा व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन समेत गरेको छ ।
बैठकले प्रत्येक प्रदेशबाट राष्ट्रिय सम्मेलनमा ३० जना प्रतिनिधि सहभागी हुनेगरी कार्यविधी बनाएको प्रवक्ता महराले जानकारी दिए ।
केन्द्रीय प्रतिनिधिको संख्या थप्न अध्यक्ष प्रचण्डलाई प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको महराको भनाई छ ।