नेप्सेमा नेपाल बैंकको सेयरमूल्य समायोजन
काठमाडौं । नेपाल बैंक लिमिटेडको सेयर मूल्यमा समायोजन भएको छ । मंगलबार (आज) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ३ सय ७८ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
बैंकले १४ प्रतिशत बोनस सेयर दिएपछि सोमबारको अन्तिम कारोबार मूल्य ४ सय ३१ रुपैयाँ ७० पैसाका आधारमा मूल्य समायोजन गरेको नेप्सेले जनाएको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो ।
मंसिर ९ गते, बिहिबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ६२ औँ वार्षिक साधारण सभा पौष २ गते, शुक्रबार नेपाल बैंक लिमिटेडको केन्द्रिय कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ ।