१० माघ २०८१, बिहिबार

एमसीसी पारित गराउन नहुने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

प्रकाशित मिति :  8 December, 2021 3:42 pm


काठमाडौं । विभिन्न आठ कम्युनिष्ट नेताहरूको नेतृत्वमा रहेका पार्टी तथा मोर्चाहरूले संयुक्तरूपमा आन्दोलन गर्ने घोषणा गर्ने निर्णय गरेका छन् ।

आन्दोलनको तयारीका लागि ती दलहरूले मंसिर २४ गतेदेखि २६गतेसम्म राजनीतिक दल तथा संगठनहरूले घोषणा गरेका कार्यक्रमलाई समर्थन गर्ने जनाएका छन् ।

मंसिर २७ गते एमसीसीको काठमाडौंस्थित एमसीए कार्यालय घेराउ गर्ने र मंसिर २८ गते संसद भवन घेराउ गर्ने कार्यक्रम तय गरेका छन् ।
प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले संसदबाट एमसीसी सम्झौतालाई पारित गराउने योजना बनाएको समाचार सार्वजनिक भएपछि यी दलहरूले विरोधका कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ“ देशको सार्वभौमिकता भन्दा माथि रहने गरी गरिएको चरम राष्ट्रघाती र जनघाती एमसीसी सम्झौता राष्ट्रिय राजनीतिमा फेरि मडारिएर आएको छ ।

विगतमा नेपाली जनताको संघर्षको बलले पारित हुन नसकेको एमसीसी सम्झौतालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदबाट अनुमोदन गराएर लागु गर्ने धृष्टताका साथ तयारी गरिरहेको सूचनाहरू सार्वजनिक भैरहेका छन् । उक्त प्रयोजनका लागि आगामी मंसिर २८ गते संसद अधिवेशन आह्वान गरिएको छ ।

डिसेम्बर १३मा एमसीसीको न्युयोर्कस्थित केन्द्रीय कार्यालयमा बैठक बस्दैछ । यो सँगै पछिल्ला घटनाक्रमले नेपाली दलाल शासकहरू राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवादी आक्रमणलाई अन्तिम रूप दिँदैछन भन्ने कुरा पुष्टि हुन आउँछ । यस विरूद्धको संघर्षलाई सशक्त बनाउनु र खारेज गर्नु नेपाली जनताको जीवन मरणको विषय बन्न गएको छ ।”

यो आन्दोलनको कार्यक्रम संयुक्तरूपमा गर्नेहरूमा विप्लव महासचिव भएको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह
महामन्त्री भएको नेपाल कम्युनिस्ट पार्टी (मसाल), मोहन वैद्य किरण महासचिव भएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), सीपी मैनाली महासचिव भएको नेपाल कम्युनिस्ट पार्टी (माले), ऋषि कट्टेल अध्यक्ष भएको नेपाल कम्युनिस्ट पार्टी, आहुती संयोजक भएको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, सीपी गजुरेल अध्यक्ष भएको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल र चित्रबहादुर केसी अध्यक्ष भएको राष्ट्रिय जनमोर्चा नेपालद्वारा संयुक्त विज्ञप्ति निकाली आन्दोलनको कार्यक्रम सार्वजनिक गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !