१० माघ २०८१, बिहिबार

सबै दलका शीर्ष नेताकै अगाडि राप्रपा अध्यक्ष लिङ्देनको प्रस्ताव,‘राष्ट्र प्रमुखमा राजसंस्था राखौं’

प्रकाशित मिति :  10 December, 2021 5:06 pm


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख दलका शीर्ष नेताहरूकै अगाडी राष्ट्र प्रमुखका रुपमा राजा हुनुपर्ने माग उठाएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई काठमाडौंको भृकृटी मण्डपमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ‘राष्ट्र प्रमुखको राजसंस्था, जनताले सोझै निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था गरेर जाऔं’ भनेर प्रस्ताव गरेका हुन् ।

लिङ्देनको प्रस्तावप्रति कांग्रेस महाधिवेशनमा सहभागिहरूको तर्फबाट होहल्ला समेत भएको थियो । तर उनले यो प्रस्ताव आफ्नो भाषणको अन्तिममा राखे र आफ्नो मन्तब्य टुंग्याएका थिए ।

लिङ्देन गतहप्ता मात्रै राप्रपाको अध्यक्षमा निर्वाचित भएका थिए । राप्रपा राजसंस्था पुनस्र्थापनाको वकालत गर्दै आएको पार्टी हो । लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि पूर्ण समानुपातिक संसदको प्रस्तावसमेत थपेका छन् ।

अध्यक्ष लिङ्देनले आफ्नो भाषणको क्रममा नेताको छवि बिग्रीएको भन्दै सुधार्नुपर्नेमा जोड दिए ।

उनले भने,“हाम्रो गाउँघरतिर पार्टीको कार्यकर्ताहरूले नेता बोलाउँदा, कुनै एउटा ठाउँमा,एउटा चौतारोमा, सामुदायिक भवनमा नेता बोलाएर राख्छन् र छरछिमेकीहरूलाई आमन्त्रण गर्न जान्छन्, आउनु न एकछिन् पलानो चौतारोमा फलानो सामुदायिक भवनमा हाम्रो नेता आउँदै हुनुहुन्छ भन्दाखेरी मान्छेले आजकल कुन नेता आएछ भनेर नेताको नाम सम्झदैनन्, कुन चोर आएछ आज त्यहाँ भनेर भन्छन् ।”

अध्यक्ष लिङ्देनले राष्ट्र प्रमुखको रुपमा राजसंस्था हुनुपर्ने माग राख्नुपूर्ण नेताहरूको छवि सम्झाएका थिए ।



प्रतिक्रिया दिनुहोस !