कांग्रेसको नयाँ नेतृत्वका लागि सभापति र सहमहामन्त्रीसमेत गरी ६० जनाद्वारा उम्मेदवारी फिर्ता
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचन प्रक्रिया अन्तर्गत पदाधिकारीसहित केन्द्रीय समितिका लागि उम्मेदवारी दिएकाहरू मध्ये सभापति र सहमहामन्त्री समेत गरी ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन समितिले आइतबार मध्यान्ह साढे १२ बजेसम्म दिएको समयावधि भित्र ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
निर्वाचन समितिका सदस्य तेज रावलले सार्वजनिक गरेको जानकारी अनुसार उम्मेदवार दिनेहरू मध्ये ६० जनाले फिर्ता लिएका हुन् ।
उनका अनुसार सभापतिका उम्मेदवार युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी सहमहामन्त्री (थारु कोटा) तर्फका उम्मेदवार सुरेन्द्र चौधरीले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।
अन्य ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । सभापतिका उम्मेदवार न्यौपानेले शेखर कोइराला र सुरेन्द्रले उमाकान्त चौधरीलाई सघाउने बताएका छन् ।
शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । अब सभापतिमा ५ जनाबीच भिडन्त हुनेछ । जसअनुसार कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवा प्रतिस्पर्धामा रहने भएको छ ।
दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् । दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा.मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा.राजाराम कार्की, प्रदीप पौडेल र डा. प्रकाशशरण महत रहेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।