८ मंसिर २०८१, शनिबार

बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा

प्रकाशित मिति :  13 December, 2021 11:15 am


काठमाडौं । बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि आपतकाल घोषणा गरिएको छ। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतबार ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन्।

आइतबार बेलुका टेलिभिन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको छाल आउनसक्ने भन्दै समयमै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले ओमिक्रोन संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबै नागरिकलाई यसै सातादेखि बुस्टर डोज दिन सुरु गर्ने विभिन्न संचारमाध्यमले जनाएका छन्।

यसअघि बेलायतले जनवरीको अन्त्यदेखि मात्रै बुस्टर खोप लगाउने तयारी भएको जनाएको। तर ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढेपछि बुस्टर खोप अभियान एक महिना अगाडि सारिएको प्रधानमन्त्री जोनसनले जानकारी दिए।

कोरोनाविरुद्धको खोप दुई डोज मात्र पर्याप्त नहुने हुँदा बुस्टर डोज अनिवार्य रहेकाले यसले भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने अधिकारीहरूको दाबी छ। बेलायतले बुस्टर खोप अभियानलाई केन्द्रित गर्न अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई स्थगित गरेको छ।

ओमिक्रोनको संक्रमण बढेसँगै बेलायतका अस्पतालमा बिरामीको चाप बढ्न थालिसकेको छ। बेलायतमा केही सातादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिदै गएका छन् । तीमध्ये ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि दैनिक ५०० को हाराहारीमा रहेको बताइएको छ।

डेल्टा भाइरस भन्दा बढी संक्रामक ठानिएको यो भाइरसको बारेमा अध्ययन जारी नै रहेपनि डेल्टाको तुलनामा कम खतरनाक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो भाइरस कति संक्रामक छ भन्ने वैज्ञानिकहरूले यकिन भन्न सकिरहेका छैनन्।

अफ्रिकी मुलुकबाट सुरु भएको ओमिक्रोन भाइरस अहिले धेरै मुलुकमा फैलिएको छ।

 



प्रतिक्रिया दिनुहोस !