बटुकको स्वास्ति वाचन र मूल्लाको आयात पढ्न लगाइ त्रिपाठीले बनाए पीपीपी
काठमाडौं । प्रतिनिधिसभाका सांसद तथा मधेश आन्दोलनका आर्किटेक्ट दाबी गर्ने ह्देयश त्रिपाठीले नयाँ दल जनता प्रगतिशील पार्टीको एक कार्यक्रम गरी घोषणा गरेका छन् ।
उनले राखेको पार्टीको अंग्रेजी नाम पिपुल्स प्रोग्रेसिभ पार्टीको संक्षेप नाम पीपीपी रहने भएको छ ।
अहिले आफू पार्टीको इन्जिन बनेका बाँकी डिब्बा पछि बन्दै जाने गरी पार्टीको घोषणा गरेको देखिएको छ ।
पार्टीको उपरी संरचना केन्द्रीय समिति समेतको खुलासा गरेका छैनन् ।
२०४८सालमा बनेको संसदको पहिलो सभामुख दमननाथ ढुङ्गानाबाट पानसमा बत्ती बाल्न लगाइ पार्टीको शुभारम्भ गराएका पार्टीका नेता त्रिपाठीले पार्टीको केन्द्रीय समिति लगायतका संरचना पछि निर्माण गरिने बताए ।
पार्टीको पारम्भिक घोषणा पत्र मात्र सार्वजनिक गरिएको यसमा वैकल्पिक धारको पार्टी निर्माण गर्नका लागि अन्य विषय वस्तु समावेश गरी परिमार्जन गरिने त्रिपाठीले बताए ।
कार्यक्रममा बाँडेको प्रेस विज्ञप्तिमा संविधान कार्यान्वयनमा देखिएका जटिलताको पहिचान गरी संविधान संशोधन, स्थानीय तहमा देखिएको बेरूजु र आर्थिक अनुशासनहीनता समाप्त पार्न, स्थानीय तहको सीमाङ्कन प्रदेश दुईमा मात्र भएकोले अन्य प्रदेशमा बाँकी तहको पुनर्सरचना कार्यान्वयन गर्नुपर्ने, मुुलुकको अर्थतन्त्र, बैकिङ क्षेत्रमा देखिएका चुनौतीको सर्वपक्षीय बहस अगाडि बढाउन, कृषि उपजको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न स्थायी प्रकृतिको उच्चस्तरीय आयोग गठन गर्न , परम्परागत पेशाको संरक्षण गरी भरपर्दो साधनको रूपान्तरण गर्न, नागरिकतामा देखिएको समस्या समाधान गर्न, निर्वाचित प्रतिनिधि रेशम चौधरी विषय र एमसीसीको विषयमा अविलम्ब राष्ट्रिय सहमतिको निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
कार्यक्रममा सरिक भएका पूर्व सभामुख दमननाथ ढुङ्गाना , पूर्व सचिव रामेश्वर खनाल र तुला नारायण साहले त्रिपाठीको पार्टीले नयाँ पार्टीको रूपमा एक वैकल्पिक पार्टीको रूपमा स्थापित हुने शुभकामना व्यक्त गरेका थिए ।
आर्किटेक्ट नेता त्रिपाठीले गएको निर्वाचनमा विचार समूह बनाइ एमालेको सूर्य चिन्ह्मा चुनाव लडेर जितेका थिए ।