महजोडी बने नेपाल टेलिकमको ब्राण्ड एम्बेसडर
काठमाडौं । महजोडीको रुपमा परिचित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नेपाल टेलिकमले ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गरेको छ ।
चार दशकभन्दा लामो अवधिदेखि हास्यव्यंग्य तथा कलाकारिता बिताएका महजोडीलाई नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका छन् ।
कम्पनीका नायब प्रबन्ध निर्देशक, निर्देशक, प्रबन्धक तथा अन्य पदाधिकारीहरुको सहभागीता रहेको सो कार्यक्रममा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले स्वागत मन्तव्य राखेका थिए। सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताए ।
कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ‘ब्राण्ड एम्बेसडर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए।
हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने टेलिकमले जनाएको छ ।