देउवालाई पौडेलको बधाई
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित भएकोमा शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
एक विज्ञप्ति जारी गर्दै नेता पौडेलले भनेका छन्,“नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनुभएकोमा श्री शेरबहादुर देउवालाई म हार्दिक बधाई ज्ञापन गर्दछु । साथै, सफल कार्यकालका लागि शुभकाामना व्यक्त गर्दछु ।”
राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको उल्लेख गरेका छन् ।
एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कोतिर नेपाललाई अस्थिरता र अधेगतितिर धकेल्ने प्रपञ्च जारी रहेको नेता पौडेलको दाबी छ ।
पौडेलले आफ्नो विज्ञप्तिमा भनेका छन्,“ यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो, सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफल मिलोस् ।”
पौडेल महाधिवेशनमा देउवाबाहेकको अर्को समूहको नेतृत्व गरेका थिए तर अन्तिममा आफ्नै टिममा कुरा नमिलेपछि सभापतिको दौडबाट अलग भएको घोषणा गरेका थिए ।