राजा र प्रचण्डबीच साँठगाँठपछि माघ १९ गतेको कदम चालिएको थियो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालिन राजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच साँठगाँठपछि माघ १९ गतेको कदम चालिएको दाबी गरेका छन् ।
मानोनित केन्द्रीय सदस्यहरूका लागि सपथ ग्रहण गराउनका लागि आयोजना गरिएको कार्यक्रममा अध्यक्ष ओलीले प्रचण्डकै सहयोगमा तत्कालिन राजा ज्ञानेन्द्रले दलहरूलाई पाखा लगाएर शासन हातमा लिएको दाबी समेत गरेका छन् ।
अध्यक्ष ओलीले भने,“ पार्टीहरूको कुनै मतलबै छैन । आफैँले घोषणा गरेर आफ्नै हातमा शासन लिएर ज्ञानेन्द्रले माघ १९ मा उधुम मच्चाए, ज्ञानेन्द्रले उधुम मच्चाउँदा प्रचण्ड र ज्ञानेन्द्रका बीचमा सहमति भएर सहमतिका साथ त्यो उपद्रो भएको थियो ।”
अध्यक्ष ओलीले तत्कालन राजा र बिद्रोही माओवादीबीच ५ बुँदे सहमति भएको समेत दाबी गरेका छन् । ओलीका अनुसार प्रचण्ड र ज्ञानेन्द्रबीच २०६० साल मंसिर १८ गते ५ बुँदे सहमति भएको दाबी गरेका हुन् ।
उनले भने,“ २०६० साल मंसिर १८ गते ज्ञानेन्द्र र प्रचण्डका बीचमा ५ बुँदे सहमति भयो । के सहमति भएको थियो कि ज्ञानेन्द्रले भन्नुपर्यो कि प्रचण्डले भन्नुपर्यो, कसका विरुद्ध सहमति भएको थियो ? त्यस्ता सहमतिले गर्दा ज्ञानेन्द्रले अभिनन्दन कार्यक्रम चलाए ।”
जनयुद्धका क्रममा लोकतान्त्रिक शक्तिहरु रुकुम रोल्पा जान नसकिरहेका बेला तत्कालीन राजा ज्ञानेन्द्रले ती जील्लामा कसरी अभिनन्दन कार्यक्रम चलाए भनेर पनि ओलीले प्रश्न समेत गरेका छन् ।