कांग्रेस महामन्त्रीमा थापा र शर्मा अघिअघि महत र पौडेल पछिपछि
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार महामन्त्रीका प्रत्यासी गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता लिएका छन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म १२ सय मत गणना हुँदा सबैभन्दा बढी गगनकुमार थापाले ७५६ मत प्राप्त गरेका छन्। महामन्त्रीका अर्का प्रत्यासी विश्वप्रकाश शर्माले ४९० मत ल्याएका छन् ।
महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले ३८९, प्रदीप पौडेलले ३६९, डा मीनेन्द्र रिजालले २२३ मत प्राप्त गरेका छन् ।
महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिए।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।