१४ माघ २०८१, सोमबार

अर्घाखाँचीमा ७ करोड रुपैयाँको लगानीमा चिस्यान केन्द्र निर्माण सुरु

प्रकाशित मिति :  16 December, 2021 4:11 pm


अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले चिस्यान केन्द्र बनाउन सुरु गरेको छ ।

किसानहरूको समस्यालाई मध्यनजर गर्दै नगरपालिका भित्र सुविधा सम्पन्न चिस्यान केन्द्र बनाउन सुरु गरेको नगरपालिकाले बताएको छ ।

सन्धिखर्क नगरपालिका-१ तारामार्गमा निर्माणधिन चिस्यान केन्द्र भवनको एक समारोहबीच आज नगरप्रमुख कमलप्रसाद भुसालले शिल्यान्यास गरेका छन् । भवनको शिल्यन्यासपछि बोल्दै नगर प्रमुख कमलप्रसाद भुसालले किसानको समस्यालाई ध्यानमा राख्दै आफूले कोल्ड स्टोर निर्माणलाई तिब्रता दिएको बताए ।

उनले भने,“नगरभित्र किसानले उत्पादन गरेका हरेक वस्तुहरूको बिक्री वितरण लाई किसान र उपभोक्तालाई सहज हुने गरी चिस्यान केन्द्र निर्माण गरेका हुन् ।”

चिस्यान केन्द्र निर्माणपछि नगरभित्रका कृषकलाई उल्लेखनीय रुपमा राहत हुने नगरप्रमुख भुसालले बताए ।

कार्यक्रममा नगर उपप्रमुख ठाकुर कुमार विकले नगरपालिकाले जहिले पनि विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै किसानको समस्यालाई समाधान गर्नको लागि नगरपालिकाले चिस्यान केन्द्र निर्माण गरेको बताए ।

चिस्यान केन्द्रको लुम्बिनी अर्घाखाँची जेभी कम्पनीले निर्माणको जिम्मा लिएको छ ।

७ करोड ७९ लाख ४७ हजार २०७ रुपैयाँ लागतमा बन्ने केन्द्रमा २ वटा चेम्बर कोल्ड स्टोर बनाइने छ भने दोश्रो तलामा १७ वटा व्यवसायीक सटरहरू रहने छन् । तेस्रो तलामा कार्यालय स्टोर तथा क्यान्टिन रहने प्राविधिक नारायण पोख्रेलले जानकारी   दिए ।



प्रतिक्रिया दिनुहोस !