राजनीतिमा सक्रिय बन्दै रोल्पाका पत्रकार
उमा केसी । लामो समय रोल्पामा रहेर पत्रकारिता गरेका पत्रकारहरूले ‘राजनैतिक क्यरियर’ शुरु गरेका छन् ।
तीन ठूला राजनीति दलको महाधिवेशनसँगै उनीहरू राजनैतिक दलका विभिन्न पदमा निर्वाचित भई राजनैतिक यात्रा शुरु गरेका हुन् ।
नेकपा एमालेको हालै सम्पन्न १० औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित ईश्वरी घर्तीमगर पूर्व पत्रकार हुन । प्रेस चौतारी नेपाल रोल्पाको अध्यक्ष, नेपाल पत्रकार महासंघ रोल्पाको सचिवको जिम्मेवारी निर्वाह गरिसकेकी घर्ती ४ वर्ष अघि सम्पन्न प्रदेश निर्वाचनमा नेकपा एमालेको तर्फवाट लुम्बिनी प्रदेश सभा सदस्यको समानुतिक तर्फ उम्मेदवार बनेकी थिइन् ।
प्रदेश सभा सदस्यमा उम्मेदवारी संगै पत्रकारिता पेशाबाट अलग भएकी घर्ती रोल्पावाट प्रकाशित हुने साप्ताहिक पत्रिका जनआकांक्षा साप्ताहिकमा प्रकाशक कार्यकारी सम्पादक हुन् ।
लामो समय पत्रकारिता गरेका घनश्याम आचार्य नेकपा एमालेको रोल्पा नगरपालिका अध्यक्ष निर्वाचित भएका छन् । मानव अधिकारवादीको पहिचान बनाएका आचार्य नेपाल पत्रकार महासंघ रोल्पाको संस्थापक सदस्य समेत हुन् । लामो समयसम्म नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद रहेका आचार्य रेडियो रोल्पाको स्टेशन म्यानेजर समेत समेत रहेका थिए ।
गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा रोल्पाको अध्यक्ष, नागरिक समाज रोल्पाको संयोजक, मानव अधिकार सचेतन केन्द्र रोल्पाको अध्यक्ष जस्ता जिम्मेवारीमा रहेका आचार्य रेडियो रोल्पाको अध्यक्ष समेत हुन् ।
सक्रिय राजनीतिमा आएका आचार्य गैर सरकारी संस्था महासंघ,नागरिक समाज, मानव अधिकार सचेतन केन्द्र र रेडियो रोल्पाको यी जिम्मेवारीमा वहाल छन् ।
जिल्लामै पहिलो महिला सम्पादकको परिचय वनाएकी कविता उपाध्याय नेपाली काँग्रेस रोल्पाको उप-सभापतिमा निर्वाचित भएकी छन् । जुनकीरी संचार साप्ताहिकको प्रकाशक ÷सम्पादक उपाध्यायले राष्ट्रिय समाचार समितिको रोल्पा प्रतिनिधिको रुपमा समेत काम गरेकी थिइन् ।
नेपाल प्रेस यूनियन रोल्पाको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरेकी उपाध्याय अघिल्लो वर्ष चैत्रमा भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा राष्ट्रिय परिषद सदस्य निर्वाचित भएकी थिइन् । ४ वर्ष अघि सम्पन्न स्थानीय तह निर्वाचनमा सुनिलस्मृति गाउँपालिकाको उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी उपाध्याय पराजित भएकी थिइन् ।
नेपाली काँग्रेस रोल्पाको उप सभापति भएपनि पत्रकारिता निरन्तरता दिने नदिनेबारे उपाध्यायले कुनै प्रतिकृया नदिएपनि जुनकीरी संचार साप्ताहिकको सम्पादक तथा नेपाल पत्रकार महासंघको राष्ट्रिय परिषद सदस्यमा भने वहाल छिन् ।
नेकपा माओवादी केन्द्रको हालैसम्पन्न लुम्बिनी प्रदेश अधिवेशनमा निर्वाचित अर्का पत्रकार हुन्, दिनेश रोका (मौसम रोका) । रोल्पाको थवाङ गाउँपालिका निवासी रोका युद्ध पत्रकार हुन् । द्वन्द्वको समयमा रेडियो जनगणतन्त्रमा कार्यरत रोका शान्ति प्रकृयापछि पनि पत्रकारितामा संलग्न थिए । नेपाल पत्रकार महासंघ रोल्पाको पूर्व अध्यक्ष रोका नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको समेत निवर्तमान अध्यक्ष समेत हुन् ।
रेडियो जलजलामा स्टेशन म्यानेजरको भूमिका सहित पत्रकारितामा जोडिएका रोका नेकपा एमाले र नेकपा माओवादी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समेत लुम्बिनी प्रदेश सदस्य थिए । माओवादी केन्द्र लुम्बिनी प्रदेश अधिवेशनबाट रोका पुन : प्रदेश सदस्य बनेका छन् । रोका हाल नेपाल पत्रकार महासंघको राष्ट्रिय परिषद सदस्य रहेका छन् ।
राजनीतिमा क्रियाशील बनिरहेका अर्का पत्रकार हुन्,मानसिंह विक । रोल्पा समाचार साप्ताहिकको प्रकाशक सम्पादक विक नेपाल पत्रकार महासंघ रोल्पाको निवर्तमान अध्यक्ष हुन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रेस सल्लाहकार र माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष समेत रहेका विक नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिषद सदस्य समेत हुन् ।
नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेशको हालै सम्पन्न अधिवेशनबाट बिक प्रदेश सदस्य निर्वाचित भएका छन् ।
पार्टी राजनीतिमा रम्दै गरेका रोल्पाका पत्रकारको वारेमा रोल्पाका अग्रज पत्रकार काशीराम डाँगी भन्छन् “जुन क्षेत्रमा चासो र सन्तुष्टी हुन्छ त्यही क्षेत्र रोजाईमा पर्नु स्वभाविक हो तर पत्रकारिता र राजनीति संग संगै जान नसक्ने तथ्यलाई पनि विर्सनु हुदैन ।”
राजनीतिमा लागेर निश्पक्ष पत्रकारिता गर्छु भन्नु तथ्यसंगत नहुने डाँगीको भनाई छ ।