हिस्सा होइन उपयुक्तताका आधारमा संगठन चल्छ : सभापति पुन
काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर पुनले समूहगत हिसाबले पार्टीभित्र पक्षपात नहुने बताएका छन् ।
देउवा पक्ष र पौडेल–कोइराला पक्ष भनेर चुनावमा गएपनि संगठनात्मक कामको शिलशिलामा प्रदेशभित्र भेदभाव नहुने स्पष्ट पारे ।
उनले लुम्बिनी सञ्चारसँगको कुराकानीमा भने,“चुनावमा जे भएपनि अब बलियो कांग्रेसका लागि गुटगत क्रियाकलाप हुँदैन, आफ्नो मान्छे र अर्काको मान्छे भन्न थालियो भने कांग्रेस सिद्धिन्छ, अब हिस्साका आधारमा होइन,उपयुक्त र आवश्यकताको सिद्धान्त अनुसार पार्टी अगाडि बढ्छ ।”
सभापति पुनले प्रतिस्प्रधी भरत शाहसँग भेटेर छलफल गरिसकेको भन्दै अब दुबै समूहको मनाविज्ञान मेटेर जाने बताए । उनले भने,“मैले उहाँ(भरत शाह)लाई पनि भेटे र अब सहकार्य गर्ने गर्नुपर्छ भनेको छु, उहाँले पनि चुनावमा जे भएपनि पार्टी बलियो बनाएर जाने हो भन्नुभएको छ ।”
पार्टीको चुनावी आधारमा भेदभाव भए संगठन नबन्ने भन्दै सभापति पुनले भने,“ पार्टी बनेन बने म कसरी सफल हुन्छु, म सफल हुन त पार्टी बलियो हुन प¥यो र यसका लागि आवश्यकता र उपयुक्तता के हो त्यसकै आधारमा निर्णय हुन्छ ।”
कतिपयले अहिले नै चुनावमा टिकटमा भेदभाव हुन्छ कि भन्ने आशंका गरेको भन्दै सभापति पुनले स्थानीयदेखि संघीय चुनावसम्म टिकट वितरणमा अशंका नगर्न आग्रह गरे । उनले भने,“पार्टीभित्र चुनाव हार्यो भन्दैमा टिकट नपाउने भन्ने कहाँ हुन्छ ? यस्तो मनोविज्ञान कुनैपनि साथीले नराखौं है, के उपयुक्त हुन्छ म सबै सहयोग गर्न तयार छु ।”
सभापति पुनले संसदीय बोर्डमा आफूपनि हुने भएकाले पक्षपात हुन नदिने प्रतिबद्धता जनाए । लुम्बिनी प्रदेशको अधिवेशनमा पौडेल–कोइराला पक्षका पुनले देउवा पक्षका भरत शाहलाई हराएर सभापतिमा निर्वाचित भएका थिए ।