सिक्का छपाईको लागि राष्ट्र बैंकले छनोट गर्यो ९ विदेशी कम्पनी
काठमाडौ । नेपाल राष्ट्र बैंकले सिक्काका छाप्नको लागि विदेशी कम्पनी छनोट गरेको छ । राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै सिक्का डिजाइन, छपाई तथा वितरणको व्यवस्थापनका लागि ९ वटा विदेशी कम्पनी छनोट गरेको हो ।
राष्ट बैंकले गत सेप्टेम्बर १६ मा जारी गरेको अन्तर्राष्ट्रिय बोलकबोलमा परेका दरखास्तहरुमध्येबाट ९ वटा कम्पनीहरुलाई प्रारम्भिक चरणमा छनोट गरिएको जनाएको छ ।
प्रारम्भिक चरणको छनोट परेका कम्पनीहरुमा चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन (चीन), मिनिका पोलस्का एसए (पोल्यान्ड), मिनकोभिना क्रिमिनिका स्ट्याट्नी पोडनिक (स्लोभाकिया), मिन्ट अफ फिनल्यान्ड (फिनल्यान्ड), रियल कासा डी ला मोनिडा (स्पेन), रोयल क्यानडियन मिन्ट (क्यानडा), रोयल डच मिन्ट दि नेदरल्यान्डस्, सेकुरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन आफ इन्डिया लिमिटेड (भारत) र दि रोयल मिन्ट लिमिटेड (बेलायत) छन्।
अब यी कम्पनीहरुबाट राष्ट्र बैंकले एउटा कम्पनीलाई छनोट गरी सिक्काको डिजाइन, छपाइ तथा वितरणको जिम्मा दिनेछ ।