६ आश्विन २०८१, आइतबार

सिरियल किलर शोभराजको निवेदनबारे सरकारका नाममा कारण देखाउ आदेश

प्रकाशित मिति :  23 December, 2021 4:54 pm


काठमाडौ । सिरियल किलर र बिकिनी किलरको रूपमा कुख्याती कमाएका हत्या मुद्दामा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका ७७ वर्षीय फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजले सर्वोच्चमा दायर गरेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई बाटोको म्यादबाहेक तीन दिनभित्र कारण दिन आदेश जारी गरेको हो ।

उनले बुधबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा बिहीबार सुनुवाइ हुँदा अदालतले सो ओदश दिएको हो ।

अधिवक्ता शकुन्तला थापामार्फत् जेष्ठ नागरिकले पाउनु पर्ने ७५ प्रतिशत कैद छुट मिनाहाको सुविधा दिलाइ पाउँ भनी माग दाबीसहितको रिट निवेदनमा सिन्हाको एकल इजलासले सो आदेश दियो ।

जेलभित्र असल चालचलन भएका ७० वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्रका लागि सुविधा नभएर विदेशी नागरिकको हकमा पनि लागु हुनु पर्ने माग दाबीसहितको जिकिर लिएर शोभराज सर्वोच्च पुगेका हुन् ।

सन् १९७५ मा अमेरिकी र क्यानाडियाली नागरिकको हत्यामा उनलाई काठमाडौं र भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरेका थिए ।

अमेरिकी नागरिक कोन्नीजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेको ठहर भइ फैसला भएको थियो ।



प्रतिक्रिया दिनुहोस !