विप्लवको चेतावनी,‘निकै लामो र ठूलो सङ्घर्षमा गुज्रिनुपर्ने बाध्यता आइलाग्न सक्नेछ’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कम्युनिष्ट आन्दोलनमा महारोगका रूपमा देखापरिरहेको पुँजीवादी संसद्वादी विचारका विरुद्ध निर्मम सङ्घर्ष गर्नेपर्नेमा जोड दिएका छन् ।
१२९ औँ माओ दिवसका अवसरमा आज प्रेस वक्तव्य जारी गर्दै महासचिव विप्लवले दलाल पुँजीवादको ‘चिहान’मा क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली जनतालाई वैज्ञानिक समाजवाद– साम्यवादतिर अग्रसर हुन आह्वान गरेका छन् ।
माओले कम्युनिष्ट आन्दोलनका माध्यमबाट विश्वसर्वहारा वर्गलाई दिएको शिक्षा र उपलब्धिको चर्चा गर्दै महासचिव विप्लवले वक्तव्यमा भनेका छन्,“यतिबेला हाम्रो देश उत्तरसाम्राज्यवाद, साम्राज्यवादको हस्तक्षेपमा परिरहेको छ र नेपाली जनताले समयमै सशक्त प्रतिरोध नगर्ने हो भने निकै लामो र ठूलो सङ्घर्षमा गुज्रिनुपर्ने बाध्यता आइलाग्न सक्नेछ ।”
विश्व–कम्युनिस्ट आन्दोलनका महान् अग्रज र विचारक माओका योगदान र त्यसबाट नेपालको कम्युनिस्ट आन्दोलनले सिक्नुपर्ने पाठका बारेमा चर्चा गर्दै महासचिव विप्लवले प्रतिबद्धताका साथ वक्तव्यमा भनेका छन्,“माओ दिवसको ऐतिहासिक अवसरमा हामी आफ्नो दृष्टिकोण नेपाली जनता र विश्वसामु राख्न चाहन्छौँ– नेपाल कम्युनिस्ट पार्टीले मार्क्सवाद–लेनिनवाद–माओवाद र विश्वभरिका क्रान्तिकारी नेताहरूका सही विचारहरूको आलोकमा विश्व–साम्राज्यवाद–पुँजीवादका विरुद्ध सशक्त सङ्घर्ष सञ्चालन गर्दै आफ्नो देशको स्वाधीनताको रक्षा गर्नेछ । हामी हाम्रो देशको दलाल पुँजीवादी सत्तालार्ई मिल्काएर नेपाली जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने दिशामा निरन्तर बढ्नेछौँ ।”
नेपाली कम्युनिष्ट आन्दोलनमा महारोगका रूपमा देखापरिरहेको पुँजीवादी संसद्वादी विचारका विरुद्ध निर्मम सङ्घर्ष गर्दै नेपाली जनतालाई वैज्ञानिक समाजवाद– साम्यवादतिर अग्रसर गराउने क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्ने महासचिव विप्लवको भनाई छ ।
उनले भनेका छन्,“यी कामहरू पूरा गर्न चुनौतीहरू छन् तर सत्य जहिले पनि सही विचारमै अन्तरनिहित हुन्छ । सही विचार र जनताको विजयलाई कसैले पनि रोक्न सक्दैन ।”