भन्सार एजेन्टको परीक्षा तत्काल सञ्चालन गर्न माग
काठमाडौं । भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन् ।
विस २०७७ चैत १६ गते भन्सार विभागले ६६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरेपनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आज भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका छन् ।
भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेको भन्दै चाँडै परीक्षा मिति तोक्न अनुरोध गर्दैै विरोध कार्यक्रम गरिएको परीक्षार्थी सुजित शाक्यले जानकारी दिए ।
कोरोनाका कारण रोकिएका लोकसेवा आयोगका अन्य परीक्षा सुरु भए पनि भन्सार एजेन्टको परीक्षा हुन नसक्नु दुःखद भएको उनकने भनाई थियो । भन्सार एजेन्टका लागि ६६० पदका लागि नौ हजारभन्दा बढी प्रशिक्षार्थीको आवेदन परेको छ ।
विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले विभागले परीक्षाको कार्यक्रमलाई आफ्नो वार्षिक कार्ययोजनाभित्र राखिसकेकाले अब चाँडो परीक्षा सञ्चालन गर्ने बताए ।
लोकसेवा आयोगले लिनुपर्ने परीक्षामा सुरुमा कोरोनाको कारण र पछिल्लो समय लोकसेवाको परीक्षाका लागि सेन्टरको अभाव भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
विभागले भन्सार एजेन्टको परीक्षाका लागि आन्तरिक तयारी अगाडि बढाइसकेकाले अब चाँडो परीक्षाको कार्यक्रम हुने उनको भनाइ रहेको छ ।