११ माघ २०८१, शुक्रबार

जनमत पार्टीद्वारा रौतहटमा मशाल जुलुस र आमहडतालको घोषणा

प्रकाशित मिति :  28 December, 2021 1:01 pm


काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी चुनावलाई ध्यानदिएर जनता तताउने रणनीति अनुसार विभिन्न जिल्लामा आन्दोलन चर्काउन प्रयास अनुरूप मंगलबार रौतहटमा मशाल जुलुस निकाल्ने भएको छ ।

पार्टीले विज्ञप्ति जारी गरी मंगलबार बेलुका रौतहट जिल्लाका विभिन्न स्थानमा मशाल जुलुश निकाल्ने र बुधबार जिल्लाभर आमहडतालको घोषणा गरेको जनाएको छ ।

पार्टीले किसानको मुद्दालाई मागको रूपमा आन्दोलन चर्काउन यो कार्यक्रम गर्न लागेको देखिएको छ ।

पार्टीले जारी विज्ञप्तिमा भनेको छ ।“ हाम्रो देश नेपाल एक कृषि प्रधान देश हो र मधेशका ९० प्रतिशत भन्दा बढी जनता कुनै न कुनै रूपमा कृषि पेसासँग जोडिएका छन् । तर यहाँका किसानहरूलाई उपयुक्त समयमा बिउ बिजन, मल खाद र सिचाईको व्यवस्था तिनै तहका सरकारले गर्न चाहेको छैन र यसको लागि आवाज उठाउँदा राज्यले किसानहरूको जायज मागलाई बेवास्ता गर्ने किसानहरू माथि दमन गर्ने लगायतका नाजायज कार्यहरू गर्दै आएको सर्वविदितै छ।”

जनमत पार्टी रौतहट जिल्लाले जारी गरेको सो विज्ञप्तिमा अगाडि भनिएको छ “ सरकारको किसान विरोधी क्रियाकलापले आजित भएका आम किसानहरू मधेसी जनताको एक मात्र पार्टी जनमत पार्टीको नेतृत्वमा गोलबन्द भइ विगत केही दिनदेखि सिरहा जिल्लामा आन्दोलनरत रहेको सर्वविदितै छ र उक्त किसान आन्दोलनमा सरकार र प्रशासनको दमनमुखी रवैयाले किसानहरू माथि भएको दमनप्रति जनमत पार्टी रौतहटको गम्भीर ध्यानाकर्षण भएको छ । सिरहोखि सुरु भएको किसानहरूको जायज आन्दोलनप्रति एक्यबद्धता प्रकट गर्दै जनमत पार्टी रौतहट तपसिल बमोजिमको मागहरू सहित तपसिल अनुसारको आन्दोलनको कार्यक्रम सहित आन्दोलन गर्ने निर्णय गरेको व्यहोरा जानकारी गराउँदै किसानहरूको जायज र अतिआवश्यक मागहरू पूरा नभएसम्म आन्दोलनमा रौतहटवासी जनसमुदायद्वारा साथ र सहयोग प्राप्त हुने अपेक्षासहित आन्दोलनबाट पर्ने असर र असुविधाप्रति सरकार स्वयं जिम्मेवार रहेको जानकारी गराउँदछौं ।”

आम हडतालको क्रममा खाना–नास्ता, औषधि पसल र अतिआवश्यक सवारी साधन बाहेक रौतहट जिल्लाभरि आम हड्ताल तथा सदरमुकाम गौरमा किसान जनप्रदर्शन गरिने पार्टीको जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !