४ आश्विन २०८१, शुक्रबार

माघ ५ देखि चितवनमा सलोम कृषि यान्त्रिकरण मेला, २० मुलुकका २ हजार कृषियन्त्र प्रदर्शन गरिने

प्रकाशित मिति :  28 December, 2021 10:22 pm


काठमाडौं । आउदो माघ ५ गतेदेखि ८ गतेसम्म चितवनको भरतपुरमा ‘सलोम एग्रिकल्चर पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८’ हुने भएको छ ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजना सम्पन्न हुने मेलामा कम्तिमा २० मुलुकका कृषि यन्त्र एकै थलोमा अवलोकन गर्न पाइने भएको हो ।

संघले आज मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै ‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ मुल नाराकासाथ कृषि यान्त्रिकरण मेला हुन लागेकाे संघका अध्यक्ष खोजराज कटुवालले बताए । भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा १५० भन्दा बढि प्रदर्शनीकर्ताका २ हजार भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु प्रदर्शनीमा राखिने उनले बताए ।

प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहने छन् ।

पत्रकार सम्मेलनमा सामुहित फाेटाे खिचाइदै ।

प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा.लि. रहेको छ । प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी लि. र मुक्तिनाथ विकास बैंक रहेका छन् । यता सहप्रयोजकमा एनटीएस इन्डष्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एण्ड सन्स ट्रेड, नेपाल चाइना एग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँ तुल्सी ग्रुप र द हाबी अटो ट्रेडिङ रहेका छन् ।

मेलाका सहयोगी संस्थाहरुमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन रहेका छन् । मेलाको सञ्चार सहयोगी संस्था एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज) र नेपाल कृषि पत्रकार महासंघ रहेका छन् इभेन्ट संसारले मेलाको व्यवस्थापन गर्ने बताइएको छ ।

प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवद्र्धन सम्बन्धी गोष्ठी तथा सेमिनार हुने, कृषि कर्जाको छुट्टै मेला हुने छन् । करिब ७० जिल्लाका १ लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको सो प्रदर्शनीमा २० करोड भन्दा बढीको कारोबार हुने अनुमान संघको छ।

प्रदर्शनीले एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुका बारेमा जानकारी गराउने, नीति निर्माता, पेशागत समूह, अनुसन्धानकर्ता, कृषक लगायतका सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउने, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्याउने, व्यवसायी र कृषकबीच कार्यगत समन्वय गराउने, लगानीको अवसर सिर्जना गर्ने, प्रतिस्पर्धी तथा आधुनिक कृषि प्रणाली विकास गराउन सहयोग गर्ने संघका महासचिव कृष्ण शर्माले बताए ।

संघले यसअघि २०७० मा चितवनमा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो । यसैगरी २०७२ मा बाँकेको कोहलपुरमा दोस्रो प्रदर्शनी, २०७४ मा धरानमा तेस्रो प्रदर्शनी र २०७६ मा चितवनमा चौथो कृषि यान्त्रीकरण प्रदर्शनी संघले आयोजना गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !