लुम्बिनीमा कांग्रेसलाई बलियो बनाउन ४ वर्षे कार्ययोजना बनाएर जान्छौं : सभापति पुन
रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले ४ वर्षे कार्ययोजना बनाएर जाने भएको छ ।
लुम्बिनी प्रदेशका नवनिर्वाचित कार्यसमिति एवं सदस्यहरुका लागि आज रुपन्देहीमा आयोजना गरिएको बधाई तथा प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नवनिर्वाचित लुम्बिनी प्रदेश सभापतिअमर पुनले आफ्नो नेतृत्वको कार्यसमितिले कार्ययोजना बनाएर जाने बताएका हुन् ।
उनले भने,“ अब लुम्बिनी प्रदेशको कांग्रेस कस्तो बनाउने भन्ने विषयमा चार वर्षे कार्ययोजना बनाएर जान्छौं ।”
उनले पार्टीभित्र कसैमाथी भेदभाव नगरेर जाने बताए । सभापति पुनले कसरी कांग्रेसलाई राम्रो बनाउने भन्ने विषयमा मात्रै आफ्नो ध्यान दिने भन्दै पार्टीभित्र कसैलाई अन्याय हुन नदिने बताए । उनले लुम्बिनी प्रदेश सरकारमा भइरहेको कामबारे समेत समीक्षा समेत हुने बताए ।
उनले भने,“ अब लुम्बिीनी प्रदेश कार्य समितिले प्रदेशको संसदीय दललाई आमन्त्रित गर्छ र काम कसरी भइरहेको छ भनेर जानकारी समेत लिन्छ र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्छ ।”
उनले आफ्ना चुनावी प्रतिद्वन्द्वी भारत शाहसँग सहकार्य गरेर अगाडि बढ्ने सभापति पुनको भनाई छ । उनले भने,“ म हारे भन्ने अनुभूति हुने दिने छैन । लुम्बिनीमा भारत शाह जीलाई साथमा लिएर जान चाहन्छु ।”