११ माघ २०८१, शुक्रबार

प्रचण्डको प्रतिवेदनमाथि न्यौपानेको फरक मत,वदनाम भएको ख्रुश्चोवी लाइनको आरोप

प्रकाशित मिति :  30 December, 2021 5:10 pm


काठमाडाैं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा नेता लेखनाथ न्यौपानेले फरक मत राखेका छन् ।

उनले फरक मत राख्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रतिवेदनले जमिनमा खुट्टा नटेको टिप्पणी गरेका छन् । उनले भनेका छन्,“यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमिनमा खुट्टा टेकेको छैन ।”

जमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरू, वर्गहरूबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्ने उनको तर्क छ ।

उनले भनेका छन्,“त्यसैगरी तीब्र रुपमा भइरहेको आन्तरिक बसाई सराई र यसले उत्पादन र राजनीतिक आन्दोलनमा पारेको दोहोरो नकारात्मक प्रभाव, विश्व श्रम बजारमा जाने नेपाली जनशक्ति र यसले पैसासँगै राजनीतिक धारणा एवं मतदानमा परिरहेको प्रभाव, विदेश पढ्न जाने विद्यार्थीहरूको बढ्दो संख्या र राम्रो जीवनको खोजीमा विश्वका विभिन्न देशमा जाने नेपाली युवाहरूको एक मात्र लक्ष्य, देशभित्र रहेका किसान, श्रमिक, अति गरिबीको रेखामुनि (२३ प्रतिशत) र गरिबीको रेखामुनी (५६ प्रतिशत) एवं हामीले भन्ने गरेको सर्वहारा वर्गको आकार र अवस्था आदिबारे खोज, अध्ययन र निष्कर्ष विना न प्रतिवेदन जमिनमा टेकेको हुन्छ न त प्रतिवेदनको शीर्षक ‘समाजवादको नेपाली बाटो’ लाई सही सिद्ध गर्न सकिन्छ ।”

प्रचण्डको प्रतिवेदनले बाम बाटो समेत नसमातेको नेता न्यौपानेको आरोप छ ।

उनले आफ्नो फरक मतमा भनेका छन्,“यो प्रतिवेदनले वाम बाटो समातेको छैन। दक्षिणपन्थी संशोधनवादी दिशा सोझिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ? पहिलो, शान्तिपूर्ण प्रतिस्पर्धाबाट आजसम्म दुनियाँमा न कतै समाजवाद आएको थियो, न आउने सम्भावना नै छ ।”

शान्तिपूर्ण तरिकाले समाजवादमा प्रवेश गर्ने भन्ने प्रचण्डको प्रतिवेदनप्रति टिप्पणी गर्दै नेता न्यौपानेले उहिल्यै १९५६ मा वदनाम भएको ख्रुश्चोवी लाइन अनुसार जनवादी कान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादको आधार निर्माण भन्ने विषय गम्भीर सैद्धान्तिक विचलन भएको टिप्प्णी गरेका छन् ।

उनले भनेका छन्,“तत्काल वा कार्यनीतिक रूपमा शान्तिपूर्ण प्रतिस्पर्धालाई अबलम्बन गर्ने हदसम्म ठिक मान्न सकिन्छ तर शान्तिपूर्ण प्रतिस्पर्धाबाट नै वैज्ञाजिक समाजवादको आधार निर्माण गर्ने धारणा दक्षिणपन्थ नै हुन आउँछ। दोस्रो, मार्क्सवादको रक्षा सिर्जनात्मक प्रयोग र थप विकास गर्ने उद्देश्यबाट चिप्लिएर प्रतिवेदनको धेरै ठाउँमा ‘प्रयोग र परिमार्जन’ भनिनु माक्र्सवाद विस्तारै छोड्दै जाने दक्षिणपन्थ हो। तेस्रो, कार्यशैली र संस्कृतिमा हामी जे भन्छौं त्यो गर्दैनौं र जे गछौं त्यो भन्न सक्दैनौं। यो कार्यशैली संस्कृतिमा देखिने अर्को दक्षिणपन्थ हो ।”



प्रतिक्रिया दिनुहोस !