आठौं महाधिवेशनको बन्दसत्रमा प्रचण्डको राजनीतिक प्रतिवेदन पारित
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।
प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा सल्लाह सुझाउ समेटिने कुरो अध्यक्ष प्रचण्डले भनेपछि बन्दसत्रले सो प्रस्ताव पारित गरेको हो ।
प्रचण्डको सो प्रतिवेदनमाथि छुट्टाछुट्टै फरक मत र पूरक प्रस्तावको रूपमा राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलले लिखत मत प्रस्तावको रूपमा पेस गरेका थिए ।
अध्यक्ष प्रचण्डले उनीहरूको प्रस्वाको विषयलाई किटानी साथ समेटने कुरो नबोलेपनि सबैको भावना समेटिने बताएका थिए ।
गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।
मंगलबार २५ वटा समूह बनाएर प्रचण्डको प्रतिवेदनमा छलफल चलाइएको थियो । बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।
त्यसपछि पश्चात प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएपछि सो प्रतिवेदन पारित भयो । जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ कार्यसमितिको घोषणा गर्न बाँकी छ ।
सहमतिमै यो काम पूरा हुने नेताहरूले जनाएका छन् ।