१२ कार्तिक २०८१, सोमबार

नक्कली अन्तःशुल्कमा मुछिएको रुपन्देहीको क्रिष्टल बोटलर्स अन्तरिम आदेश बोकेर पुनः उत्पादनमा

प्रकाशित मिति :  2 January, 2022 4:18 pm


काठमाडौं । नक्कली अन्तःशुल्क स्टिकरको आरोपमा मुछिएको बुटबलको क्रिष्टल बोटलर्स प्रालिले अदालतबाट अन्तरिम आदेश हात पारेसँगै फेरि उत्पादन थालेको छ ।

आन्तरिक राजस्व विभागले क्रिष्टल बोटलर्स प्रालिको अन्तःशुल्क इजाजत पत्र निलम्बन गरेपछि फूलसिंह क्षेत्रीले उच्च अदालत बुटवलमा दायर गरेको मुद्दामा अदालतले मंसिर २४ गते निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनेर दिएको अन्तरिम आदेशको भरमा पुनः उत्पादन थालिएको हो ।

नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा आन्तरिक राजस्व विभागबाट इजाजतपत्र नै निलम्बनमा परेको क्रिष्टलले अन्तरिम आदेश पाएसँगै नयाँ उत्पादन सुरु गरेको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ मा रहेको प्रा.लिका सञ्चालक फूलसिंह क्षेत्री र माउन्ट एभरेष्टका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

आन्तरिक राजश्व कार्यालय रूपन्देही उनीहरुविरुद्ध कुल ५ करोड ५६ लाख ४३ हजार रुपैयाँ बराबरको बिगो रकम माग दावी गर्दै कात्तिकको अन्तिम हप्तातिर उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको थियो ।

विभागका अनुसार यी दुई कम्पनीले जारी भएको सक्कली अन्तःशुल्क स्टिकरको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तःशुल्क स्टिकर बनाएर राजस्व छली गरेको आरोप थियो ।

उनीहरुबाट बरामद भएको स्किटर भन्सार कार्यालयबाट जाँचपास भएको भन्दा बढी परिमाणमा मालवस्तु भेटिएको राजश्व अनुसन्धान आयोगको मुद्दामा उल्लेख छ ।

राजस्व अनुसन्धान विभागले क्रिष्टल डिष्टिलरीविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि आन्तरिक राजस्व विभागले भने मंसिर १० गते इजाजत निलम्बन गरेको थियो । क्रिष्टल डिष्टिलरीले गम्भीर प्रकृतिको राजस्व छली गरेको भन्दै आन्तरिक राजस्व विभागले इजाजत खारेजको बताएको थियो ।

अन्तःशुल्क इजाजत खारेजपछि उद्योगले कुनै पनि मदिरा उत्पादन पाउँदैन तर बुटबल उच्च अदालतमा पुगेर अन्तरिम आदेश पाएसँगै कम्पनीले नयाँ ब्राण्ड बजारमा ल्याएको हो ।



प्रतिक्रिया दिनुहोस !