१२ कार्तिक २०८१, सोमबार

शिवम् सिमेन्टका कारण बस्ती जोखिममा

प्रकाशित मिति :  2 January, 2022 5:57 pm


मकवानपुर । मकवानपुरको हेटौँडा वडा नं १६ मा रहेको शिवम् सिमेन्ट उद्योगले कञ्चापदार्थ चुनढुङ्गाका लागि मकवानपुरगढीमा रहेको खानीमा जथाभावी रुपमा उत्खनन गर्दा स्थानीयवासी समस्यामा परेका छन् ।

उक्त खानीबाट जथाभावी उत्खननले आफनो घरजग्गा राम्रोसँग उपयोग गर्न नपाउनाका साथै वर्षायाममा खेतबारी र घर बगाउनेसमेत चिन्ता बढेको स्थानीयवासीको गुनासो छ ।

उद्योगको ढुङ्गाखानी मकवानपुरगढी गाउँपालिका– २, ३, ६, ७ र ८ मा विस्तार भए पनि विशेष गरी खानी आसपासका र सामरी खोला किनारका बासिन्दा चिन्तित छन् ।

उद्योगले मकवानपुरगढीको खोटार, चपकी र कलवान क्षेत्रमा अव्यवस्थित रुपमा चुनढुङ्गा उत्खनन गरी पथ्थर र माटो बालुवा यत्रतत्र फाल्दा त्यहाँका जगङ्लसमेत मासिएको छ ।

उद्योगले खानी उत्खनन गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरेका कारण समस्या भएको बस्ती तथा भूमि संरक्षण समूहका सचिव पुस्कर तिमल्सिनाले बताए ।

उक्त समूहको टोलीले केही दिन अगाडि चुनढुङ्गा खानी क्षेत्रको अवलोकन गरेर खानी अव्यवस्थित रुपमा सञ्चालन भएको भन्दै प्रतिवेदन तयार गरेको उनको भनाइ थियो ।

समूहले खानी अव्यवस्थित भएको देखाउँदै उद्योगसँग १२ बँुदे माग राखेको थियो ।

मागपत्रमा खानीबाट निस्केर प्रयोगमा नआउने कञ्चापदार्थ सुरक्षित स्थानमा राख्नुपर्ने र बोटबिरुवा तथा जडीबुटीमा असर नपर्ने गरी गाउँपालिकासँग स्वीकृति लिएर व्यवस्थापन गर्नुपर्ने, खानी उत्खनन गर्दा वैज्ञानिक मापण्ड अपनाउनुपर्ने, खानीका कञ्चापदार्थलाई उचित व्यवस्थापन गर्नेुपर्ने र वडा नं १ देखि वडा नं ८ सम्मका तटीय क्षेत्र पूर्ण जोखिममा रहेकाले संरक्षणको जिम्मा सम्बन्धित उद्योगले लिनुपर्नेजस्ता विषय रहेको जनाइएको छ ।

उक्त विषयमा स्थानीयवासीको बसेको सर्वपक्षीय बैठकले खानी उत्खननमा भएको दुरुपयोग नियन्त्रण गर्नुपर्नेमा जोड दिएको छ ।

मकवानपुरगढी गाउँपालिका प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष र बस्ती संरक्षण समूहको प्रतिनिधिबीच भएको बैठकले पुस १९ गते र ३० गतेसम्म खानी क्षेत्रको अवलोकन गरेर थप विवरण लिने निर्णय गरेको सचिव तिमल्सिनाले जानकारी दिए ।

उद्योग प्रशासनलाई पटकपटक जथाभावी उत्खनन नगर्न ताकेता गर्दासमेत सुनवाइ नगरेकाले वास्तविक प्रतिवेदन आएपछि कारबाही अघि बढाइने उनले बताए । रासस

 



प्रतिक्रिया दिनुहोस !