११ कार्तिक २०८१, आइतबार

गुजरात सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी भएका बेला जनकपुर-जयनगर रेलवेको उद्घाटन योजना

प्रकाशित मिति :  3 January, 2022 2:41 pm


काठमाडौं । भारतको गुजरातमा आयोजना हुन गइरहेको १०औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल’ समिटमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा गइरहेका बेला नेपाल रेलवे अन्तगर्तको जनकपुर जयनगर रेल सेवाको उद्घाटन गर्ने योजना बनाइएको   छ ।

प्रधानमन्त्री देउवालाई गुजरात सम्मेलनमा भाग लिन निम्तो गरिएको छ । निम्तोको जानकारी पाएपछि देउवाले सो सम्मेलनमा भाग लिन जाने भ्रमणको आवश्यक तयारी गर्न परराष्ट मन्त्रालयलाई निर्देश दिन दिएका थिए ।

भ्रमणको तयारीमा अधिकारीहरु संलग्न रहेको भएपनि सो सम्मेलनमा भाग लिने समग्र प्रतिनिधिहरुको टुंगो लाग्न अझ बाँकी रहेको छ ।

भारतीय पदाधिकारीहरुका अनुसार जनकपुर जयनगर रेलवेको सेवा नयाँ वर्षदेखि नै सञ्चालन गरिने योजना रहेको थियो । तर प्रक्रियागत ढिलाइका कारण त्यो सम्भव हन सकेन । अब यसको सञ्चालन फेब्रुअरी एकदेखि सञ्चालनमा आउने योजना रहेको छ । यसका लागि भारतबाट प्राविधिकहरुको टोली आउन सुरु भइसकेको छ ।

भारतीय प्राविधिकहरुले रेलवे सेवा सञ्चालनमा आउन अघि केही तालिम दिनेछन भने केही सञ्चालनको क्रममा तालिम दिइने भारतीय अधिकारीहरुले जनाएका छन् ।

नेपाल र भारत दुवै तर्फका अधिकारीहरु बीच छलफल हुँदै आएको छ । स्थानीयहरुले जनकपुर जयनगर रेलवेलाई सञ्चालनमा ल्याउन स्थानीयहरुले दबाब दिँदै प्रदर्शन पनि गर्ने गरेका छन् ।

भौतिक पूर्वाधार योजना तथा यातायात मन्त्री रेणु यादवलाई तयारी अवस्थामा रहेको जनकपुर जयनगर रेलवे सेवा सञ्चालन बारे ज्ञापन पत्र पनि बुझाइएको थियो ।

मन्त्री यादवका स्वकीय सचिव अशोक यादवले रेलवे सेवा फेब्रुअरी महिनादेखि दैनिक सञ्चालनमा आउने बताए । यादवले भने रेलवेको दैनिक सञ्चालनको सुनिश्चित गर्न मन्त्रीजी कटिबद्ध भइ लाग्नु भएको छ ।

सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न जनताको चाहना पूरा गर्न मन्त्री सरोकारवाला सबै पक्षसँग छलफल र निर्णय गराउनुपर्ने काम गराउन क्रियाशील हुुनुहुन्छ ।

साथै मन्त्री यादव पूर्वपश्चिम रेलवे लगायतका अन्य परियोजनालाई सक्दो छिट्टो अगाडि बढाउन प्रयास गरिरहेको स्वकीय सचिव यादवले जनाए ।

देउवासँग भारत भ्रमणमा मन्त्री यादवपनि जान लाग्नु भएको हो भनी सोधिएको जवाफमा यसबारे आफूलाई जानकारी नभएको बताउँदै उनले गुजरात सम्मेलनमा उद्घाटन भए नभएपनि फेब्रुअरीमा रेल सञ्चालन हुने बताए ।

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा जनकपुर जयनगर रेलवेको ब्रोडगेजमा स्तरीकरण गरिएको छ ।

सो परियोजनाको बिजलपुरा बर्दिबाससम्मको रेललाइन बिछाउने काम बाँकी रहेको छ । जयनगरदेखि जनकपुरको कुर्थासम्म निर्माण भएको रेललाई सञ्चालनमा ल्याउने योजना रहेको छ ।

जनवरी १० देखि १२सम्म गुजरात सम्मेलनको आयोजना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !