४ आश्विन २०८१, शुक्रबार

किसान सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालन

प्रकाशित मिति :  4 January, 2022 11:57 am


काठमाडाैं । मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्नका लागि गाउँपालिकाले किसानलाई सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ । पालिका आर्थिक विकास शाखाको आयोजनामा किसानलाई तालिम दिइएको हो ।

गाउँपालिकामा रहेका कृषकलाई सूचीकृत गर्दा गाउँपालिकालाई योजना बनाउन सहज हुने र कृषकको आवश्यकता र उत्पादनलाई समेत ध्यान दिन सहयोग पुग्ने भएका कारण उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले तालिममा सहभागीलाई किसानका घरघरमा गई किसान सूचीकरणको पूर्ण अभ्यास गराइरहेको जनाएको छ ।

तालिममा मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले खाद्य अधिकार र खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५, किसान सूचीकरण किन ? त्यसका अवधारणा नेपाल र अन्य मुलुकमा किसान सूचीकरणको अवस्था, प्रयोगबारे प्रस्तुति राखे ।

त्यसैगरी कृषि र पर्यटनमा राम्रो आम्दानी गरिरहेको मकवानपुरगढी गाउँपालिकामा कार्यालयले पालिकाभित्रको कृषि उपजलाई पालिकाभित्रै खपत गराउने उद्देश्यका साथ पर्यटन व्यवसायीलाई तालिम दिने निर्णय गरेको छ । गाउँपालिकाले होटल, घरबास, रेष्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउने तालिम दिने भएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८/७९ को वार्षिक कार्यक्रमअनुसार कृषि विकास कार्यक्रम सङ्घप्य सशर्ततर्फ ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’ (बाली विकास कार्यक्रम)अन्तर्गत कोदो र फापरको परिकार बनाउने तालिम दिन लागिएको हो । गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र कृषि विकास अधिकृत चन्द्रकान्त चौधरीद्वारा जारी सूचनामा पालिकामा दर्ता भई सञ्चालनमा रहेका होटल, रेष्टुरेन्ट, घरबास तथा खाजा पसल सञ्चालकलाई मात्र तालिममा सहभागी गराइनेछ ।

उक्त तालिममा सहभागिताका लागि सूचना जारी भएको मितिले २१ दिनभित्र अर्थात् माघ ८ गतेभित्र पालिकाको कृषि विकास शाखामा निवेदन दिन भनिएको छ । -रासस



प्रतिक्रिया दिनुहोस !