११ माघ २०८१, शुक्रबार

कांग्रेसका प्रदेश सभापतिहरुद्वारा अधिकार विस्तार गर्न माग

प्रकाशित मिति :  4 January, 2022 3:07 pm


काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीमा आफूहरुको अधिकार विस्तार गर्नुपर्ने माग गरेका छन् । उनीहरुले विधान संशोधन गरेर अधिकार बढाउन माग गरेका हुन् ।

सोमबार सात वटै प्रदेशका सभापतिहरूले केन्द्रीय सभापति शेरबहादुर देउवालाई एक माग पत्र बुझाएका छन् ।सो माग पत्रमा प्रदेश सभापतिहरुको अधिकार बढाउन माग गरिएको हो ।

केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुने वैधानिक व्यवस्था र प्रदेश सांसदको लेबी सम्बन्धी प्रदेश कार्यसमितिको खातामा बुझाउने प्रक्रिया मिलाइदिन प्रदेश सभापतिहरूले माग गरे । सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा समेत उनीहरुले आफ्ना माग राखेका थिए ।

सातै वटै प्रदेशका सभापतिहरुको तर्फबाट लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले केन्द्रीय समितिमा माग राखेका थिए ।
कांग्रेसमा पहिलो पटक प्रदेश संरचनामा गएकाले सभापतिहरू केही अलमलमा देखिए । उनका अनुसार अहिलेसम्म प्रदेश सांसदको लेबी पार्टी केन्द्रको खातामै जम्मा गर्ने गरिएको छ । केन्द्रसँग समन्वयका लागि पनि आफूहरूले केन्द्रीय समितिमा भाग लिन पाउने वैधानिक व्यवस्थाको माग गरेको पुनको कथन छ ।

पार्टी विधानले प्रदेश सभापतिलाई प्रदेशभित्र १५ वटा अधिकार दिएको छ । त्यसैगरी प्रदेश समितिलाई ३ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । तर केन्द्रीय समिति बैठकको पदेन सदस्य हुने व्यवस्था गरिएको छैन् । सो व्यवस्था गर्न केन्द्रीय सभापतिको नाममा पत्र लेखि उनीहरुले बुझाएका छन् ।

पत्रमा सातै प्रदेश सभापतिहरुको हस्ताक्षर गरिएको छ । प्रदेश नम्बर एकबाट उद्धव थापा, प्रदेश नम्बर दुईबाट कृष्ण प्रसाद यादव, बागमती प्रदेशबाट इन्द्रबहादुर बानिया, गण्डकी प्रदेशबाट शुक्रराज शर्मा, लुम्बिनी प्रदेशबाट अमरसिंह पुन ,कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदुरपश्चिम प्रदेशबाट बीरबहादुर बलायरले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !