ललिता निवास प्रकरणका मुख्य आरोपी ढकालसहित ४ जना विरुद्ध रु. २ अर्ब ४० करोड कर छलीको मुद्दा दायर

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालसहित ४ जना विरुद्ध राजश्व अनुसन्धान विभागले कर छलीको आरोपमा मुद्दा दायर गरेको छ ।
विभागले शोभाकान्तसहित उनकी पत्नी उमाकुमारी,ढकाल, पारिवारिक सदस्य सरोज ढकाल तथा लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ तथा कैद सजाय मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
ढकाल दम्पती,सरोज ढकाल र सान्टु श्रेष्ठ आनसान इन्टरनेशनल प्रालीका सञ्चालक हुन् । विभागको विज्ञप्ति अनुसार ‘आनसान इन्टरनेशनलले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, वित्तीय विवरणहरू तथा आय विवरणहरू तयार गरी कारोबार नै नभएको देखाई अर्थात कारोबार शून्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य’गरेको छ ।
संस्थाको लेखा परीक्षण गर्ने राजेश्वर श्रेष्ठ विरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ । शोभाकान्त ललिता निवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकारका रुपमा ओपित व्यक्ति हुन् ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधिन छ । अदालतको आदेशमा ढकाल हाल डिल्लीबजार कारागारमा छन् ।
विभागका अनुसार आरोपितहरुले मूल्य अभिवृद्धिकर तर्फ ४२ करोड २६ लाख ७ हजार ३ सय ५१, आयकरतर्फ ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ र लाभांश तर्फ ९ करोड ७४ लाख ८४ हजार ३ सय ७६ रुपैयाँ गरी कूल १ अर्ब २० करोड ४९ लाख १७ हजार ८ सय २४ रुपैयाँ राजस्व चुहावट गरेको गरेको अनुसन्धानबाट खुलेको छ ।
आनसानका चारैजना सञ्चालकलाई बिगो र जरिवानाबाहेक ३ वर्ष कैदको मागदाबी गरिएको छ । लेखापरीक्षण गर्ने श्रेष्ठलाई मतियारमा आधा सजायको मागदावी अर्था १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरिएको छ ।