३ आश्विन २०८१, बिहिबार

पाल्पामा रातो हुनुपर्ने कफी कालो

प्रकाशित मिति :  29 February, 2020 2:24 pm


पाल्पा, १७ फागुन । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा तुसारोले कफिको दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् ।

कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदैै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् । स्थानीयवासी मुगीसरा लम्तरीले तुसारोका कारण यस वर्ष कफी नटिपिएको र टिप्न नपाउँदै झर्दा आम्दानी हुन नसकेको बताए । कफी खेती गरी घर खर्च चलाउने यहाँका किसानले यसपालिका उत्पादित कफीबाट मनग्ये आम्दानी लिन नसकेका हुन् । उनले कफीबाट गत वर्षमा दश १५ हजारभन्दा बढी आम्दानी गरेको र यसपटक आम्दानी लिन असफल भएको गुनासो पोखे । स्थानीयवासीले कफीमा तुषारोका कारण रोग लागे भनेपनि प्राविधिकरुपमा कुन रोग लागेको पहिचान हुन सकेको छैन ।

सुकदमारका कफी खेती गर्ने किसानलाई प्राविधिक ज्ञानको अभाव छ । अहिले रोग लागेपछि त्यसको रोकथाम चुनौती देखिएको छ । कफीका देखिएको रोगको पहिचान गरी उन्मूलन गर्न नसकेकोे लम्तरीले बताए । कम लगानीमा प्रशस्त आम्दानी हुँदा पाल्पाका किसान कफी खेतीतर्फ आकर्षित हुँदै आएका थिए तर, स्थानीयवासीले प्रशस्त आम्दानी गर्न कफी लगाए पनि यसमा रोगले आक्रमण गरेपछि किसान चिन्तित बन्नुपरेको स्थानीयवासी लिलाबहादुर बरालले बताए । जिल्लामा गत आर्थिक वर्ष २०७५-०७६ मा २५ ट्रन कफी उत्पादन भएको थियो । जिल्लाको तानसेन नगरपालिका, रैनादेवी, बगनासकाली गाउँपालिका व्यावसायिक रुपमा कफी खेती हुँदै आएको छ । जिल्ला कफी सङ्घका अनुसार कफी व्यावसायिक वार्षिक रु २५ हजारदेखि तीन लाखसम्म आम्दानी हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !