९ मंसिर २०८१, आइतबार

पराम्परागत प्रणाली छोडेर सामुहिक खेती गर्न कृषि मन्त्रीको आग्रह

प्रकाशित मिति :  10 January, 2022 6:28 am


काठमाडौं । नेपालमा कृषि पेशा निर्वाहमुखी भएकोले अब व्यवसायमुखी कृषि गर्नु पर्ने कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादवले बताएका छन् । नेपाल कृषि अर्थशास्त्र समाजको पन्ध्रौ साधारण सभामा मन्त्री यादवले अहिले भइरहेको परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनिक कृषि गर्नु पर्नेमा उनले जोड दिए ।

उनले भने,“सामुहिक खेती प्रणालीमा ठुलो खेती गर्न सके आयात कम हुन्छ ।”

उत्पादन क्षेत्रलाई वृद्धि गर्न केहि जटिल समस्या रहेको मन्त्री यादवले बताए । “किसानले गरेको उत्पादन भण्डारणको आवश्यकता रहेको छ । भण्डारणको व्यवस्था भएपछि केहि समस्या हल हुने,” उनले भने ।

मन्त्री यादवले माछा उत्पादनमा नेपाल केहि वर्षमा आत्मनिर्भर हुने बताए । उनले भने, “अनुदान रकम सम्बन्धित किसानसम्म पुर्याउन सकिन्छ भन्ने चुनौती छ । त्यसको लागि किसान परिचयपत्रको कार्यविधि आएको छ ।”

मन्त्री यादवले भने, “प्रधानमन्त्री कृषि परियोजनाको सुरुवात भएको ५ ६ वर्ष भयो त्यसको कति प्रभाव परेको छ । यसलाई कसरी अगाडी बढायो भने सबैको पहुँचमा पुग्छ । नेपाल कृषि अर्थशास्त्र समाजले बुभ्mनुपर्छ ।”

सबै प्रदेशमा कृषकलाई जागृत गराएर विदेश विदेशीने युवालाई यहि बाँझो खेतमा कृषि गर्न कसरी सकिन्छ भनेर छलफल भइराखेको बताए ।

“मलको अभाव अन्तर्राष्ट्रियस्तरमा भएका कारण मलको मूल्य बढिराखेको छ । २७ अर्ब सरकारले रकम विनियोजन गरेको भएपनि समस्याको समाधान भएको छैन,” उनले भने ।

देशसँग पैसा हुँदा पनि मल नपाउने समस्या भएकोले यसलाई कसरी लैजान सकिन्छ भन्ने ठुलो चुनौती रहेको मन्त्री यादवले बताए ।

कृषकले रसायनिक मल भन्दा पनि प्राङ्गारिक मल प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कृषि मन्त्रालय पशुपन्छी विकास सचिव निरु दाहाल पाण्डेले मन्त्रालय र नेपाल कृषि अर्थशास्त्र समाज मिलेर जानुपर्ने बताइन् ।

“सरकारले कोल्डस्टोर बनाउने प्रयास गरेको तर कहाँ मिल्दैन । यसलाई कसरी गर्न सकिन्छ त्यता लाग्नुपर्छ ,” उनले भनिन् ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्व विद्यालयका उपकुलपति प्रा. डा. पुन्य प्रसाद रेग्मीले कृषिको कस्तो ढाँचा बनाउँदा फाइदा हुन्छ त्यस्तो बनाउनुपर्ने बताए ।
“प्रदेश सरकार, स्थानीय तह, अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर कस्तो ढाँचा चाहिने हो त्यस्तो ढाँचा बनाउनुपर्छ,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !