९ मंसिर २०८१, आइतबार

कोरोना संक्रमण भन्दै हठात लकडाउन नगर्न सरकारसँग पर्यटन व्यवसायीको आग्रह

प्रकाशित मिति :  10 January, 2022 6:44 am


काठमाडौं । नेपाल पर्यटन बोर्डले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा पर्यटन क्षेत्रसँग सरोकार राख्ने संस्था तथा व्यक्तिहरुसँग छलफल गरेको छ । साथै बोर्डले यो बीचमा आफुले गरेका कामहरुबारे जानकारी दिँदै नयाँ परिस्थतीमा कसरी जाने भन्नेबारे निजी क्षेत्रसँग सुझाव लिएको छ ।

कार्यक्रममा निजी क्षेत्रका संस्था तथा पर्यटन व्यवसायीहरुले स्वास्थ्य मापदण्डहरुको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनु पर्ने सुझाव दिएका छन् । कोरोना संक्रमण भन्दै हठात लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशायी भएको भन्दै त्यस्ता निर्णय नर्गन सरकारसँग आग्रह समेत गरेका छन् ।

उनीहरुले संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने, तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलाउनु पर्ने बताएका छन् । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मीले विगतमा कोभिडको संक्रमण र सीमित स्रोत र साधनकोका बीचमा पनि बोर्डले विभिन्न कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

उनले फेरि कोभिडको नयाँ संक्रमण बढिरहेको सनर्दभमा निजी क्षेत्रको सुझाव आवश्यक पर्ने भएकोले कार्यक्रम आयोजना गरिएको बताए ।

सो अवसरमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाटाका अध्यक्ष अच्युत गुरागाईले कोभिड विरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए ।

पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्थालाई हेरेर पर्यटन बोर्डले बजार रणनीति परिवर्तन गर्न सुझाव दिएका छन् । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएसनका अध्यक्ष तथा पर्यटन व्यवसायी डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनु पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !