२ कार्तिक २०८१, शुक्रबार

रोल्पा होलेरीको स्मारकमा ‘जनयुद्ध’ छैन, ‘सशस्त्र द्वन्द्व’ लेखिएपछि बिबाद

प्रकाशित मिति :  1 March, 2020 9:45 am


रोल्पा, १८ फागुन । रोल्पाको होलेरीमा २५ अौं जनयुद्ध दिवसको अवसर पारेर होलेरी मिडिया राष्ट्रिय सम्मेलन गरियो ।

रून्टीगढी गाउँपालिकाले आयोजना गरेको सम्मेलनमा काठमाडौं र प्रदेश- ५ बाट गिनेचुनेका १०० जनाजति पत्रकारलाई निमन्त्रणा थियो । मिडिया सम्मेलनको उद्घाटनका लागि गएका थए पहिलो होलेरी आक्रमणका कमाण्डर समेत रहेका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन ‘अनन्त’ ।

सम्मेलनको अवसर पारेर राज्य र विद्रोही पक्षवाट मारिएकाहरुको सम्झनामा २०५२ साल फागुन १ गते आक्रमणमा परेको प्रहरी चौकी रहेको स्थानमा बनाईएको ‘शान्ति स्मारक’ पुनले अनावरण गरे । स्मारकमा युद्धका बेला ज्यान गुमाउने रुन्टीगढी गाउँपालिका स्थायी घर भएका व्यक्ति र गाउँपालिका भित्र ज्यान गुमाउने व्यक्तिको नाम छ । तर, पुनले अनावरण गरेको स्मारक बिबादमा परेको छ । कारण हो, स्मारकमा ‘जनयुद्ध’ शब्द नभएर ‘सशस्त्र द्वन्द्व, लेखिनु ।

तत्कालीन नेकपा एमालेले जितेको रून्टीगढी गाउँपालिकाले होलेरीको स्मारकमा ‘सशस्त्र द्वन्द्व’ लेखेर तत्कालीन होलेरी अाक्रमणका कमाण्डर बर्षमान पुनलाई अनावरण गरायो । अहिले स्मारकमा ‘जनयुद्ध’ शब्द लेख्नु पर्ने र ‘सशस्त्र द्वन्द्व’ हटाउनु पर्ने तत्कालीन माओवादीका नेता कार्यकर्ताको माग छ । नसच्याईए स्तम्भ छोपेर राख्ने वा सशस्त्र द्वन्द्वको ठाउँमा जनयुद्ध लेख्ने चेतावनी उनीहरुले दिएका छन् ।

तत्कालीन माओवादीवादीका स्थानीय नेता गोविन्द पुनमगरले लुम्बिनी सञ्चारसँग भने,’हामी अहिले एउटै पार्टीमा छौं तर उहाँहरुले हाम्रो मर्म बुझ्नु भएन लडेकाहरुलाई पो यसको महत्त्व हुन्छ, सच्याईंएन भने हामी मान्दैनौं, स्तम्भमा जनयुद्ध शब्द नै लेख्छौं, सम्मेलनलाई सफल बनाउँ भनेर मात्रै त्यो बेला नबोलेको ।’

२०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले युद्ध सुरु गर्दा होलेरीमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको थियो जसका कमाण्डर थिए अहिलेका उर्जा मन्त्री पुन । होलेरीलाई ‘एेतिहासिक ठाउँ’का रूपमा चिनाउने प्रयास जारी छ । तर, तत्कालीन द्वन्द्वको उद्गमस्थलमा बनेको स्मारकमै ‘जनयुद्ध’को ठाउँमा ‘सशस्त्र द्वन्द्व’ले लेखिएपछि तत्कालीन माअाेवादीका नेता कार्यकर्ता रूष्ट बनेका छन् ।

तत्कालीन माओवादीका स्थानीय नेता पुनमगरले भने,’ हुनत जनयुद्ध नलडेका साथीहरूलाई यसको गौरव बोध हुने कुरा भएन तर सच्याउने सहमति भएको छ सच्चिन्छ अहिलेसम्म त सच्चिनु पर्ने हो ।’ तर, गाउँपालिकाका अध्यक्ष बलराम बुढाले स्मारकमा सशस्त्र द्वन्द्व लेखेर पूर्व लडाकु कमान्डर रहेका पुनबाट नै अनावरण भईसकेको स्मरण गराए ।

 

संविधानमा जनयुद्ध नभएर सशस्त्र द्वन्द्वले लेखिएकाले संविधान अनुसार स्मारक भएको स्पष्ट पारे । अध्यक्ष बुढाले लुम्बिनी सञ्चारसगँ भने,’ स्थानीय केही साथीहरू असन्तुष्टी थियो तर संविधान भन्दा माथी कोही छैन, संविधानले जनयुद्धलाई स्वीकार गरेको छैन र सशस्त्र द्वन्द्व लेखिएको छ त्यसैले होलेरीको स्मारक पनि संबिधान अनुसार नै छ ।’



प्रतिक्रिया दिनुहोस !