सङ्ग्रहालयमा कमीकमजोरी गर्नेमाथि कानुन बमोजिम कारबाही हुन्छ: मन्त्री आले
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्ट लगायतका व्यवसाय गर्न दिइएको अनुमतिमा गलत देखिएका विषयमा कानुन बमोजिम कारबाही हुने बताएका छन् ।
दरबार सङ्ग्रहालयभित्र रेष्टुरेण्टलगायत विषयमा छानबिन गर्नका लागि गठित छानबिन समितिले आज बुझाएको प्रतिवेदन बुझ्दै मन्त्री आलेले सो कार्यमा कमीकमजोरी गर्ने व्यक्ति वा संस्थालाई कानुन बमोजिम कारबाही हुने बताए । “छानबिन समितिले प्रतिवेदन बुझाएको छ, प्रतिवेदनमा कमिकमजोरी उल्लेख छ, कमीकमजोरी गर्ने जिम्मेवार व्यक्ति वा संस्थालाई कानुन बमोजिम कारबाही हुन्छ,” उनले भने ।
मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेस्टुरेण्टलगायत व्यवसाय गर्न बतास समूहलाई दिने अहिलेसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि तीन दिनअघि समिति गठन गरिएको थियो । सम्झौता विपरीत बि म्यानेजमेन्ट प्रालिले नयाँ संचरना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकले कुनै कानुनी कारबाही नगरेको प्रतिवेदनमा उल्लेख छ ।
आधिकारिक निकायबाट नक्सा पास नगरी एवं निर्माण स्वीकृति नलिई र मन्त्रालय एवं विकास समितिको पूर्वस्वीकृति नलिई अनुमानित १४ रोपनी क्षेत्रफल रहेको जग्गामा थप नयाँ संरचना निर्माण भएको देखिएको छ ।
छानबिन समितिमा मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणि गौतम, कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा र समितिको सदस्य सचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेका थिए । मन्त्री आलेले रेस्टुरेण्टको काम रोक्न नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई निर्देशन दिएका थिए।-रासस